भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो ।
सो अवसरमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गरे । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदासमेत दृढ र स्पष्ट विचार राख्दै आएको जानकारी गराएका थिए ।
‘प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो”, सो अवसरमा गृहमन्त्री खाँणले भने, ‘सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’
राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । उनले भने, ‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन् ।’