अमेरिकी पत्रकार डेनिस हुलीसँगको ‘दिस् इज अमेरिका एन्ड द वर्ल्ड’ नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै राजदूत खत्रीले आफू अमेरिकामा जिम्मेवारी सम्हाल्न आउनुअघि नेपाल सरकारले एमसीसीलाई अघि बढाउनुलाई सकारात्मक भएको बताए । ‘म भाग्यमानी भएँ कि म यहाँ त्यो बेला आएँ जुन बेला नेपालको संसद्ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्यो । जसले गर्दा धेरै ढोकाहरु खुला गरिदियो,’ उनले भने,‘त्यसपछि मेरो पेन्टागन, परराष्ट्र मन्त्रालय र यूएसएआइडीसँग सम्पर्क भयो ।’
उनले भारत र चीनकोबीचमा रहेको नेपाल आफ्नो भूराजनीतिक स्थानबाट लाभान्वित भएको बताएका छन् ।‘हामी हाम्रो भूराजनीतिक स्थानबाट पनि लाभान्वित छौं ’ उनले भनेका छन्,’ दुई ठूलो आर्थिक वृद्धि भइरहेका मुलुककोबीचमा रहेका छौं, जुन विश्वकै शक्ति बन्न लागि अघि बढिरहेका छन् । उनीहरुको बीचमा बसेर हामीले फाइदा लिन्छौं ।’
करिब २७ मिनेटको अन्तर्वार्तामा राजदूत खत्रीले दुई आर्थिक रुपमा वृद्धि भइरहेको तथा एक अर्बभन्दा बढी जनसंख्या भएका मुलुकहरु भारत र चीनको बीचमा रहेको कारण मात्र नेपाल सानो मुलुक भएको बताएका छन् ।
राजदूत खत्रीले उक्त अन्तर्वार्तामा नेपालको असंलग्न परराष्ट्र नीति रहेकाले कसैसँग गठबन्धन नगर्ने उल्लेख गरे । ‘हाम्रो परराष्ट्र नीति स्पष्ट रहेको छ, जुन असंलग्नता हो । त्यो भनेको संसारका कुनै पनि मुलुकसँग हामी गठबन्धन गर्दैनौं भन्ने हो । हाम्रो नयाँ संविधानमा पनि हामी असंलग्न रहन्छौं भन्ने उल्लेख गरिएको छ,’ उनले अन्तर्वार्तामा भनेका छन् ।
उनलेनेपाल र अमेरिका बीचको द्वीपक्षीय व्यापार आदान–प्रदान बारेमा पनि कुराकानी गरेका छन् । अमेरिकी कम्पनीले नेपालमा उर्जा क्षेत्रमा लगानी गर्न सक्ने पनि बताएका हुन् । ‘लगानी गर्नको लागि सकिने क्षेत्रमध्ये एक हाइड्रोपावर पनि हो,’ उनले भनेका छन् । खत्रीले नेपालमा लगानी गर्न सक्ने क्षेत्रको रुपमा सूचना प्रविधि पनि रहेको बताए ।
पत्रकारले अमेरिकामा पछिल्लो पटक भइरहेको गोली कान्डलाई जोडेर नेपालको दरबार हत्याकाण्डको बारेमा सोधेका थिए । खत्रीले दरबार हत्याकाण्डलाई सोच्नै नसक्ने घटना भएको भएको उल्लेख गर्दै त्यस बारेमा पूर्व अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको हत्याकाण्ड जस्तै धेरै षडयन्त्रका सिद्धान्तहरु रहेको प्रष्ट पारे । उनले यस घटनाको विषयमा बुझ्नको लागि अझै समय लाग्ने पनि बताए ।
राजदूत खत्रीले अमेरिकाको गोली काण्डहरुको बारेमा बच्चाहरु र मान्छेहरु बिना कारण मारेको देख्दा निकै दु:ख लागेको बताए । ‘मलाई लाग्छ, बन्दुकलाई नियन्त्रण, सामाजिक सहिष्णुयता र घटना हुनुअघि नै गल्ती गर्नेलाई पहिचान गरेर घटना हुन नदिनु अहिले अमेरिकाले सामना गर्नु पर्ने सबैभन्दा ठूलो चुनौती हो,’ उनले भनेका छन् ।
राजदूत खत्रीलाई पत्रकारले नेपालका बन्दुक प्रयोगको अवस्था र नेपालबाट के सिक्न सक्छ भनेर सोधेका छन् । खत्रीले नेपालमा बन्दुक प्रयोग निकै निषेधित रहेको प्रष्ट पारे । ‘माओवादी द्वन्द्वको समयमा पनि बन्दुक प्रयोगलाई लिएर निकै गाह्रो थियो । लाइसेन्स लिने र नियन्त्रण गर्ने पाटो त्यस बेला निकै कडा थियो । अहिले पनि बन्दुक प्रयोगमा नेपालमा उस्तै कडापन छ । केही सामान्य राइफल सिकारको लागि हुन्छ, त्यो पनि निश्चित तरिकाको । सुरक्षा निकायबाहेक अन्यलाई पेस्तोल बोक्न पाउँदैनन्,’ खत्रीले भनेका छन् ।
राजदूत खत्रीले नेपालको राजनीतिक प्रणालीको बारेमा टिप्पणी गर्दै ‘डेमोक्रेसी इन प्रोग्रेस’ भनेका छन् । धार्मिक सहिष्णुता र विविधता रहेको पनि प्रष्ट पारे । ‘हाम्रोमा चिनियाँ र भारतीय सभ्यताको संगमका साथै नेपालको आफ्नै किसिमको पहिचान पनि रहेको छ’उनले भनेका छन् ।


