कांग्रेस बाँकेको सभापति चुन्न आज फेरि दोस्रो चरणको मतदान शुरु
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति चुन्न हिजो भएको निर्वाचनबाट परिणाम नआएपछि आज फेरि दोस्रो चरणको मतदान शुरु भएको छ । आजको पहिलो मतदान बाँके निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का सचिव गोकर्ण शाहीले गरेका छन् ।
विहान १० बजेदेखि मतदान शुरु भएको हो । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणमा निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ । 
विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जनाएको छ । मतदान लगत्तै मतगणना शुरु गरिने जनाइएको छ । आजको निर्वाचनले सभापतिको टुंगो लगाउनेछ । हिजो भएको निर्वाचनमा गौडेलले ५६९, कुर्मीले ५३८ र हमालले ३१४ मत पाएका थिए । कुल १४ सय ९३ मतदाता मध्ये १४ सय ४५ जनाले मत हालेका थिए ।
हिजै पदाधिकारी, सदस्य र महासमिति सदस्यहरुको निर्वाचन भइसकेको छ । आज सभापतिको परिणाम आएपछि ती पदहरुको मतगणना शुरु हुनेछ


