कोसी अनलाइनको प्रधान–सम्पादकमा धर्मेन्द्र झा
कोसी अनलाइन डट कमको प्रधान–सम्पादकमा पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् ।
आज बसेको रिपब्लिक हेराल्ड मिडिया एन्ड पब्लिकेसन प्रालिको सञ्चालक समिति बैठकले पत्रकार झालाई प्रधान–सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मिडियाका अध्यक्ष तथा कोसी अनलाइनका सञ्चालक प्रभात खड्काले काठमाडौँस्थित कर्पोरेट कार्यालयमा नवनियुक्त प्रधान–सम्पादक झालाई स्वागत गरे ।
खड्काले झाको नेतृत्वमा कोसी अनलाइनले अझ व्यावसायिक उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रताप्रति आफू सचेत रहेको बताउँदै सम्पादकीय समूहलाई व्यवस्थापनको तर्फबाट कुनै दबाब र हस्तक्षेप नहुने प्रतिबद्धतासमेत जनाए ।
पदबहाली गर्दै प्रधान–सम्पादक झाले पत्रकारितामा टिमवर्क नै महत्त्वपूर्ण भएकाले आफ्नो एक्लो प्रयासभन्दा पनि समूहले नै सँगसँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कसैमाथि आग्रह–पूर्वाग्रह नराखी स्वच्छ र व्यावसायिक पत्रकारितामा जोड दिँदै प्रधान–सम्पादक झाले आफ्नो नेतृत्वमा पूर्ण प्रेस–स्वतन्त्राको प्रत्याभूति दिलाउने बताए ।
२०४४ सालमा जनकपुरबाट प्रकाशित हुने जन–आकाङ्क्षा र विदेह साप्ताहिकमार्फत पत्रकारिताको औपचारिक यात्रा थालेका झा २०५२ सालदेखि काठमाडौँ बिटमा रहेर पत्रकारिता तथा लेखनमा निरन्तर सक्रिय छन् ।
हिमालय टाइम्स दैनिकको कार्यकारी सम्पादकसम्मको भूमिका निर्वाह गरेका झाले अन्नपूर्ण पोस्ट दैनिकको समाचार सम्पादक तथा डेपुटी–एडिटरसहित हिमालय टेलिभिजन, नवविचार साप्ताहिक, नयाँ पाइला अनलाइन, विकास टाइम्स, अप्पन मिथिला, नेपाल प्रज्ञा प्रतिष्ठानको मैथिली प्रकाशन आङनको सम्पादकीय नेतृत्व गरिसकेका छन् ।
फ्रिडम फोरमका महासचिव झा २०६५–०६८ मा नेपाल पत्रकार महासङ्घको केन्द्रीय अध्यक्ष थिए । पत्रकारिता, सूचनाको हक, सङ्घीयता, संवादलगायत विषयका प्रशिक्षक झाका पत्रकारिता तथा साहित्यिक विषयमा अनेक कृति प्रकाशित छन् ।
नेपाली तथा मैथिली साहित्यमा समान रूपमा कलम चलाउने झाको साहित्यिक नाम धर्मेन्द्र विह्वल हो । नेपाली पत्रकारितामै पहिलो प्रयोगका रूपमा कोसी अनलाइनमा उनको दैनिक स्तम्भ ‘कन्टिर–दृष्टि’ दुई सय दिनयता नियमित प्रकाशन भइरहेको छ ।कोसीअनलाइन


