कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेस निकटका जनप्रतिनिधिहरूको काम गर्ने शैलीले आम जनताको मन जित्न सफल भइरहेको दाबी गरे । उनले जनप्रतिनिधिहरूले जनताको भावना बुझेर, सरल, जिम्मेवार र पारदर्शी ढंगले काम गर्दै आएका कारण कांग्रेसप्रति जनविश्वास थप बलियो बन्दै गएको बताए । गौडेलले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा जनताको माग र प्राथमिकतालाई सम्बोधन गर्न माग गर्दै नगरपालिकाले बजेट सार्वजनिक गर्ने, सल्लाह सुझाव लिने र कार्यान्वयनको क्रममा समेत नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रमको सभापतित्व गर्दै नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले पालिकास्तरमा सञ्चालन हुने विकास निर्माणका योजना र कार्यक्रमहरू पार्टीको विचारधारा, नीति र सिद्धान्तसँग मेल खाने गरी सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिए । उनले पार्टीले अघि सारेको “राष्ट्रियता, लोकतन्त्र र समाजवाद“ को मूल नारालाई व्यवहारमा उतार्नका लागि स्थानीय सरकार र पार्टी नेतृत्वबीच बलियो सहकार्य आवश्यक रहेको बताए । केसीले भने, “हाम्रो पार्टीको दर्शन जनतासँग प्रत्यक्ष जोडिएको छ । त्यसैले विकास योजनाहरू बनाउँदा स्थानीय जनताको सरोकार र चाहना अनुसार नीति निर्माण र बजेट विनियोजन हुनु जरुरी छ । केवल सहरी सुन्दरताका नाममा सम्पन्न वर्गलाई मात्र लक्षित गरेर योजना बनाउने प्रवृत्ति अन्त्य गरेर गाउँ, टोल र सीमान्तकृत समुदायसम्म सेवा पु¥याउने खालका कार्यक्रम ल्याइनुपर्छ ।”
उनले पछिल्लो समय जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भान केही स्थानमा देखिएको उल्लेख गर्दै कांग्रेस नेतृत्वले विकासको हरेक पक्षमा गहिरो निगरानी र निर्देशन दिनुपर्ने आवश्यकता औँल्याए । “पार्टीको विचार र नीति अनुसार काम नगर्ने प्रवृत्ति नियन्त्रण नगर्ने हो भने जनतामा कांग्रेसप्रतिको विश्वास कमजोर बन्न सक्छ,” उनले भने । केसीले जनतासँगको सम्पर्क सशक्त बनाउन पार्टी नेतृत्व, वडा स्तरीय समिति र जनप्रतिनिधिहरूबीच नियमित संवाद र अन्तरक्रिया आवश्यक रहेको बताए । उनले आगामी बजेट निर्माण प्रक्रियामा वडास्तरका योजना समिति, टोल विकास संस्था र सर्वसाधारण नागरिकको सुझाव लिने व्यवस्था गरिनुपर्ने सुझाव समेत दिए । उनले पार्टी नेतृत्वले आफूलाई जनताप्रति जिम्मेवार ठान्दै नगरपालिकाभित्रका हरेक विकास निर्माणको निगरानी र मूल्यांकनमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
“जनप्रतिनिधिले गरेका काम, योजना र बजेटको प्रभाव प्रत्यक्ष जनतासँग साक्षात्कार गरेर मात्र पार्टीले सही मूल्यांकन गर्न सक्छ,” केसीले भने । त्यस्तै उनले युवाहरूको सक्रिय सहभागिता, महिला सशक्तिकरण, लैङ्गिक समानता, सामाजिक समावेशिता र साना लघुउद्यमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी वर्षको बजेटमा यी विषयहरूलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई आग्रह गरे । केसीले समापनमा भने, “जनताको भलो गर्ने भन्ने साँचो मनले काम गरे कांग्रेसको छवि झन मजबुत हुन्छ। हामी सबै मिलेर पार्टीको नीति, विचार र जनताको चाहना अनुसार विकास र सुशासनको अभ्यास गरौं ।”
विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अञ्जना पाण्डेले स्थानीय सरकारलाई जवाफदेही बनाउनुपर्ने बताइन् । जनप्रतिनिधि जनताको सेवामा इमानदार रहनुपर्ने र पार्टीले निरन्तर निगरानी राख्नुपर्ने आवश्यकता औंल्याइन् । पाण्डेले स्थानीय तहमा विकास योजना छनोट गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । उनले कोहलपुर क्षेत्रको प्रमुख रोजगारीको माध्यम कृषि भएकाले कृषकहरूको जीवनस्तर उकास्ने र उनीहरूलाई आय–आर्जनमा उन्मुख गराउने दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा राखिन् ।
पाण्डेले भनिन्, “आजको समयमा कृषि क्षेत्रको व्यवसायीकरण नगरी स्थानीय आर्थिक विकास सम्भव छैन । कृषकलाई अनुदान र सहुलियत दिनु मात्रै हैन, उनीहरूलाई सीप, प्रविधि र बजारीकरणको सुनिश्चितता समेत गरिनुपर्छ ।” उनले नगरपालिकाले कृषकमैत्री योजना तथा नीति निर्माण गरेर सीमान्त कृषक, साना किसान र महिला कृषकलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै कृषि उत्पादनमा विविधिकरण, कृषि सहकारीको सशक्तिकरण र स्थानीय कृषि बजारको स्थापना जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । “हामीले बर्सेनी बजेट छुट्याउँछौं, तर कृषकका वास्तविक समस्या भने जस्ताको तस्तै छन् । अब योजनाहरू कागजमा मात्र सीमित नराखी व्यवहारमा लागू हुने खालका ल्याउनुपर्छ,” उनले भनिन् ।
पाण्डेले कृषिमा आधारित लघुउद्यम र प्रशोधन उद्योग स्थापना गरेर कृषकलाई मूल्य अभिवृद्धि हुने वातावरण तयार पार्नुपर्ने आवश्यकता औंल्याइन् । उनले स्थानीय उत्पादनलाई बजार सुनिश्चित गर्न नगरपालिकाले सहजीकरण गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिँदै भनिन्, “स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने सञ्जाल विकास नगरी कृषकले लगानी अनुसारको प्रतिफल पाउँदैनन् । त्यसैले योजना बनाउनु भन्दा पहिले कृषकसँग सिधा छलफल गर्नुपर्छ ।”
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले नगरको समग्र विकास र जनताको अपेक्षा पूरा गर्न सबै पक्षको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरे । उनले विकासको प्रक्रिया केवल नगर कार्यपालिकाको जिम्मेवारीमा सीमित नभई जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सर्वसाधारण र सञ्चारकर्मीको संयुक्त प्रयासबाट मात्र सफल र दिगो बन्न सक्ने स्पष्ट पारे । आचार्यले भने, “हामी सबै मिलेर काम गर्छौं भने मात्रै नगरको विकासले गति लिन्छ । जुनसुकै योजना होस्, त्यसलाई जनताको चाहना, कार्यकर्ताको सल्लाह र नीति नियामक निकायको समन्वयमा अगाडि बढाउँदा मात्र परिणाम देखिन्छ ।”
उनले पछिल्ला वर्षहरूमा नगरपालिकाले साना र ठूला योजनाहरू सञ्चालन गर्दा देखिएका समन्वय अभावका कारण कतिपय योजनामा चुनौती देखिएको उल्लेख गर्दै अब भने नगरपालिकाले समन्वयात्मक शैलीमा काम गर्ने नीति लिएको बताए । “अब योजनाको छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नेछौं,” आचार्यले भने । नगर प्रमुख आचार्यले सामाजिक समावेशिता, लैङ्गिक समानता, युवा सशक्तिकरण, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिकाले सबै वडामा समावेशी विकासको मोडेल स्थापना गर्न प्रयत्नशील रहेको जानकारी दिए ।
नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकालाई सहरी कृषि, स्मार्ट नगर र हरित नगरको अवधारणामा लैजाने योजना बनाइरहेको उल्लेख गर्दै वातावरण संरक्षण, सफाई व्यवस्थापन, कृषि बजार व्यवस्थापन र सहरी पूर्वाधार निर्माणमा सबै पक्षको सहकार्यमा काम गरिने जानकारी दिए । नगर प्रमुख आचार्यले यस्ता संवाद कार्यक्रमलाई नियमितरुपमा आयोजना गरिने र उठेका सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर उपप्रमुख संगीता सुवेदीले पार्टीप्रति पूर्ण जिम्मेवार बन्दै स्थानीय जनता र आम कार्यकर्ताको भावना अनुसार काम गरिरहेको बताउँदै भनिन्, “जनताको अपेक्षा, कार्यकर्ताको चाहना र पार्टीको नीति अनुसार काम गर्न हामी निरन्तर प्रयासरत छौँ । आगामी दिनमा अझ परिस्कृत शैली र पारदर्शी ढंगले काम गर्दै जनताको ढोका–ढोका पुगेर समस्या सुन्ने र समाधान गर्ने कार्यलाई संस्थागत बनाइनेछ ।” सुवेदीले सरकार, पार्टी र जनताबीचको सहकार्य नै सशक्त स्थानीय शासनको मूल आधार हुने उल्लेख गर्दै विकास योजनामा कसैलाई पनि पछि पार्न नहुने बताइन् ।
“हरेक समुदाय र टोलको आवश्यकता फरक हुन्छ, तसर्थ योजना बनाउँदा सम्बन्धित वडाबाटै सुझाव लिने र प्राथमिकतामा राख्ने अभ्यासलाई बलियो बनाइनेछ,” उनले भनिन् । सुवेदीले विगतका केही योजनाहरूमा देखिएका समन्वय र कार्यान्वयनका समस्यालाई चिर्दै आगामी वर्षको बजेटमा जनभावना अनुसारका कार्यक्रमलाई बढी प्राथमिकता दिने योजना रहेको जानकारी दिइन् । कार्यक्रममा सहभागी आम जनप्रतिनिधि र कार्यकर्ताहरूबाट आएका सुझाव र गुनासोलाई पनि ध्यानमा राखेर पालिकाले काम गर्ने स्पष्ट संकेत दिँदै उनले सबै पक्षसँग सहकार्यमा काम गर्ने दृढता व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले पालिकाको विकासका सवालमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच नियमित संवादको आवश्यकता औँल्याउँदै “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” भन्ने मूल नारालाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए । बागेश्वरीपोस्ट