जसपाका केन्द्रीय सदस्य राजकिशोर मिश्रासहित बाँकेका दर्जनौँ नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
दिनेश ठाकुर बाँके, कार्तिक १७ — जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य राजकिशोर मिश्राको नेतृत्वमा बाँकेका दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी परित्याग गर्दै बाँकेको जानकी, खजुरा र बैजनाथ गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष राजकिशोर मिश्रा, निर्वाचन क्षेत्रका सल्लाहकार हफीज खाँ र प्रदेशसभा क्षेत्र सदस्य इसरार अहमद खाँ रहेका छन्।
त्यस्तै, सद्भावनाका पूर्व जिल्ला अध्यक्ष मुन्नन खाँ, जिल्ला सदस्य धनिराम हरिजन, क्षेत्रीय उपाध्यक्ष सुबराती काँध, क्षेत्रीय सचिव छब्बु खाँ, क्षेत्रीय सदस्यहरू औरन्जेब खाँ, कृष्णकुमार शुक्ला, सुशीलकुमार शुक्ला तथा क्षेत्र कमिटी सदस्यहरू खेद्दु हरिजन, फुलाराम थारु र नकुदर सिंहलगायतका नेताहरू पनि पार्टीमा प्रवेश गरेका छन्।
यसैगरी, जानकी गाउँपालिका इकाइ कमिटीका अध्यक्ष रामबिलास राठौर, महिला सदस्य कमला पासी, सचिव अनु मिश्रा, कोषाध्यक्ष गंगाराम काँध, उपाध्यक्ष सन्तोष हरिजनसहित घनश्याम हरिजन, अश्विनी कुमार तिवारी, मुन्नन खाँ, दिनेश तिवारी र राधेश्याम बर्मालगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन्।
नवप्रवेशी नेताहरूले मधेस तथा स्थानीय क्षेत्रको वास्तविक विकास, जनताको अधिकारको सुनिश्चितता र सामाजिक न्यायका लागि कम्युनिस्ट विचार र नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
उनीहरूले पार्टीको नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउँदै संगठनलाई गाउँ तथा टोल तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धतासमेत जनाएका छन्।
दर्जनौँ नेता तथा कार्यकर्ताको सामूहिक प्रवेशले बाँकेमा नेपाली कम्युनिस्ट पार्टीको संगठन विस्तारमा थप ऊर्जा थपिने अपेक्षा गरिएको छ।


