ध्यानाकर्षण – डा. शोभाकर पराजुली संविधानसभा सदस्य
सम्माननीय राष्ट्रपति,प्रधानमन्त्री,सभामु
सम्माननीय नेपाली काँग्रेसका सभापति,
आदरणीय सबै दलका नेताहरु,
सादर शुभेच्छा !
बिषय:- ध्यानाकर्षण ।
महोदयहरु,
1. २०८० कार्तिक १२ गते संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस नेपाल आउने र ऐ. १४ गते संसदमा उहाँले सम्बोधन गर्ने लगायतका कार्यक्रमको जानकारी संचार माध्यमहरुद्वारा सम्प्रेषण भएकै छ ।
2. उहाँ सन् १९९५ देखि २००० सम्म पोर्चुगलको प्रधानमन्त्री, १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेश्नलको अध्यक्ष र २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्र संघको उच्च तहमा रहेर प्रभावकारी भूमिका निर्वाह गर्नुभएको बिषय स्मरणीय तथा प्रशंसनीय छ ।
3. उहाँको अध्यक्षतामा २००४ फेब्रुअरी ७-८ मा स्पेनको मेड्रिडमा सोसलिस्ट इन्टरनेश्नलको सम्मेलन सम्पन्न भएको थियो ।
4. त्यस समयमा नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा प्रतिगमन विरोधी आन्दोलन चलिरहेको थियो ।
5. फेब्रुअरी ७-८, २००४ को त्यो सम्मेलनमा नेपाली काँग्रेसको तर्फबाट पार्टीले मलाई पठाएको थियो । तत्कालीन सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाले मलाई चयन गरी उक्त सम्मेलनमा पठाउनुभएको हो । त्यो बेला म नेपाली काँग्रेस, केन्द्रीय कार्यालयको सचिव थिँए ।
6. आदरणीय गिरिजाप्रसाद कोइरालाले संयुक्त राष्ट्र संघका महासचिव एवं सोसलिस्ट इन्टरनेश्नलका तत्कालीन अध्यक्ष एन्टेनियो गुटेरेससँग कुरा गरी नेपालका लागि ६ मिनेट ३० सेकेण्डको सम्बोधन समय तय गरी मलाई भाषण तयार गर्न भन्नुभयो ।
7. मैले केही सिनियर र अनुभवी साथीहरुको सहयोगमा भाषणको मस्यौदा तयार गरी गिरिजाप्रसाद कोइरालालाई देखाएँ । उहाँले केही नेताहरुसँग छलफल गरी हल्का संशोधनसहित ठीक छ भनी मलाई स्याबासी दिनुभयो ।
8. त्यो समयमा सभापति कोइरालाले पार्टीको प्रतिनिधित्व गर्दै पठाउँदा दुई दिनको सम्मेलन सकिएपछि देशको समग्र अवस्थाको जानकारी गराउँदै शान्ति, स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकारका निमित्त जनमत तयार गर्न विश्वका दर्जनभन्दा बढी बिशिश्ट नेताहरु र पोर्चुगल, स्पेन, फ्रान्स, बेल्जियम, जर्मनी, इटाली, स्विटजरल्याण्ड, लक्जम्बर्ग, नेदरल्याण्डलगायतका केही सरकार र केही राजनीतिक दलहरुलाई देश र पार्टीका तर्फबाट आफ्नो क्षमताको पूरापूर उपयोग गर्नू भनी आदेशसाथ एक महिनाको समय तोकिदिनुभयो ।
9. दुई दिनको मेड्रिडको सम्मेलनको सदुपयोग गर्दै विभिन्न देशबाट आउनुभएका नेताहरुसँग भेट, छलफल गरी आफ्नो कर्म गरें । हुनत सबै कुराहरु मैले गरेको भाषणमा थियो नै । तथापि एकएक गरी कुरा राख्दा अझ प्रष्ट र प्रभावशाली हुनेरहेछ ।
10. सो सम्मेलनको समापनपछि पार्टीले लगाएको काममा लागें । उक्त काममा युरोपमा रहनुभएका दर्जनौँ लोकतन्त्रवादी नेपाली युवा साथीहरुले मलाई साथ दिनुभएको थियो ।
11. मेरो भनाइको मूल आसय के हो भने – महासचिव गुटेरेसले प्रतिगमन विरुद्धको नेपालको आन्दोलनलाई समर्थन र सहयोग गर्नुभएको थियो । उहाँलाई नेपाल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं विख्यात् समाजवादी नेता विश्वेश्वरप्रसाद कोइरालाको बारेमा राम्रो जानकारी छ । बीपीप्रति उहाँको उच्च सम्मान छ । यो गुह्य कुरा मैले तब थाहा पाएँ जब उहाँले मेरो सम्बोधनपछि मलाई बोलाएर निकै लामो समय (३५ मिनेट) सम्म मसँग थुप्रै जिज्ञासा राख्नुभयो ।
12. तसर्थ अहिलेको हाम्रो मुलुकको अवस्थाका बारेमा विस्तारमा छलफल गरी संयुक्त राष्ट्र संघ र संघ मार्फत् बिशेष सहयोग लिन सकिने बलियो सम्भावना खेर नजाओस् भन्ने सदासयताले यहाँहरुलाई अनुरोध गर्न उचित ठानेको हुँ । यो मौका फेरी आउँदैन ।
13. हुनत कुनै जिम्मेवारी र भूमिकामा नभएको म जस्तो साधारण व्यक्तिको यो अनुरोध सम्माननीय व्यक्तित्वहरुलाई हेर्ने, हो होइन भनी परख गर्ने फुर्सद नहुन सक्छ वा यो बिषय जानकारी पनि हुन सक्छ ।
तर, तपाईंहरुका सल्लाहकार एवं सहयोगी र स्थायी सरकारका व्यक्तित्वहरुको ध्यान पुग्छ कि भन्ने विश्वासले शान्ति, स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार र मुलुकको चौतर्फी समृद्धिको चाह भएकाले मैले आफ्नो सानो कर्तव्य स्वतस्फुर्त रुपमा निर्वाह गरेको हुँ । जय नेपाल !
डा. शोभाकर पराजुली
सम्विधानसभा सदस्य
“समता सदन”
सिमरा, बारा ।


