१७ श्रावण २०८३, आईतवार

नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई निजी क्षेत्रको स्वागत

एसीपी संवाददाता

२२ पुष २०८०, आईतवार १७:०९ मा प्रकाशित

 काठमाडौं । नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत् व्यापार सम्झौतालाई निजी क्षेत्रले स्वागत गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने बाटो खोल्दै भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपालको ऊर्जा विकासमा आगामी दिनमा महत्वपूर्ण अवसर सिर्जना भई थप ढोका खुल्दै जाने बताएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा विद्युत् उत्पादन भएको ११२ वर्ष पुगेको जानकारी गराउँदै अहिले २८३७ मेगावाट जलविदुत् उत्पादन भइरहेकोमा २१ सय ७५ मेगावाट हिस्सा निजी क्षेत्रको रहेको बताए ।

उनका अनुसार अहिले निजी क्षेत्रले मात्र ३१ सय मेगावाटका जलविद्युत् आयोजना बनाइरहेको छ । निजी क्षेत्रले निर्माण गर्न तयारी अवस्थामा रहेको २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेको समेत उनले जानकारी दिए ।

नेपाल र भारतबीच विद्युत् आदान प्रदान हुन थालेको ५० वर्ष पुगेको भनदै उनले सन् २०७१ देखि विद्युत् आदान प्रदान हुन थालेको बताए । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रारम्भिक सम्झौता भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला हस्ताक्षर भएको हो ।

तयार छ निजी क्षेत्र

अहिले अल्पकालिन रुपमा करिब ५ सय मेगावाट बिजुली निर्यात गरिरहेको नेपाल ठूलो मात्रामा बिजुली निर्यातको बाटोमा रहेको भन्दै यसका लागि निजी क्षेत्र तयार रहेको सन्देश समेत इप्पानले दिएको छ ।

१० हजार मेगावाट बिजुली निर्यातका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै इप्पानले त्यसका लागि निजी क्षेत्र तयार रहेको बताएको हो ।

त्यसका लागि प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता पूर्ण रुपमा खुला हुनुपर्ने, निजी क्षेत्रलाई निर्यातको अनुमति पत्र दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउनु पर्ने समेत इप्पानको भनाई छ ।

सरकारले ऊर्जा उत्पादनमा सहुलियत घोषणा गर्नुपर्ने, प्रशासनिक र प्रक्रियागत समस्या समाधान गर्नुपर्ने समेत निजी क्षेत्रको माग छ । अनलाइनखबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x