६ बैशाख २०८३, आईतवार

नेपालगन्ज घटनामा आफूलाई फसाउने प्रयास भएको शालिक राम पाठकको जिकिर, निष्पक्ष छानबिनको माग

एसीपी संवाददाता

६ बैशाख २०८३, आईतवार २३:३२ मा प्रकाशित

नेपालगन्ज । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा गरिएको आगजनी र तोडफोडको घटनासंग जोडेर आफूविरुद्ध गैरकानुनी रूपमा मुद्दा चलाइएको भन्दै शालिक राम पाठकले आफूमाथि अन्याय भएको जिकिर गरेका छन् । उनले आन्दोलनमा सहभागी भएको आधारमै पूर्वाग्रह राखेर आफूलाई जबर्जस्ती दोषी बनाउन खोजिएको जिकिर गरेका हुन् । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेका पाठकले सो दिन देशभर नै व्यापक रूपमा जनप्रदर्शन भएको र नेपालगञ्जमा पनि हजारौं युवाको सहभागिता रहेको थियो भन्दै सोही क्रममा उपमहानगरपालिकाको कार्यालय तोडफोड तथा नगर प्रमुखको सवारीसाधनमा आगजनी भएको घटना सार्वजनिक भए पनि उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले घटनाको समयमा आफू कार्यालय परिसरभित्र प्रवेश नगरेको र कम्पाउन्ड बाहिर रहेको बताएका छन् । घटनासँग जोडिएको भनिएको सवारीसाधनमा आगो लागेको अवस्थामा कालो झोलाभित्र भेटिएको नेपाल राष्ट्रको राष्ट्रिय झण्डा निकाल्ने क्रममा भएको दृश्यलाई गलत ढंगले व्याख्या गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको उनको भनाइ छ । पाठकका अनुसार, उक्त दृश्यलाई तोडमोड गरेर आफूलाई नै संलग्न भएको देखाउने प्रयास गरिएको हो ।

पाठकले आफ्नो मोबाइलको ‘टावर लोकेसन’ विवरणले समेत घटनास्थलमा आफू नभएको पुष्टि गर्ने बताएका छन् । प्रहरी अनुसन्धानका क्रममा समेत सो विषयमा कुनै ठोस प्रमाण नभेटिएको उनले उल्लेख गरेका छन् । उनले आफू स्वेच्छाले जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थित भई २७ दिनसम्म अनुसन्धानमा सहयोग गरेको जानकारी दिएका छन् । अनुसन्धान अवधिभर आफूलाई दोषी प्रमाणित गर्ने आधार नभए पछि सरकारी वकिल कार्यालयमार्फत हाजिरी जमानीमा छाडिएको उनले बताएका छन् ।

पाठकले नेपालगञ्ज उपमहानगरपालिका परिसरभित्र रहको बाणिज्य बैंकको सामाजिक सुरक्षा भत्ता शाखा कार्यालय तथा राजस्व कार्यालयले गैरकानुनी तरिकाले आफूले गर्दै नगरेको अभियोग लगाएर बाँके जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताए । आफू कुनै पनि राजनीतिक दल वा समूहसँग आबद्ध नरहेको स्पष्ट पार्दै पाठकले लामो समयदेखि विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका कारण जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट सम्मानित भएको पनि उल्लेख गरेका छन् ।

उनले आफूलाई बदनाम गर्ने नियतले गरिएको यस्तो कार्यले व्यक्तिगत प्रतिष्ठामा गम्भीर असर परेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । पत्रकार सम्मेलनमा उनी श्रीमती र दुई छोरासहित उपस्थित थिए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x