नेपालगन्जको हनुमत गौशालामा गुरुकुल पाठशाला निर्माण सुरु, प्रदेश सांसद काफ्लेद्वारा ४० लाख बजेट विनियोजन प्राविधिक टोलीद्वारा स्थलगत नापजाँच, गुरुदेव हिरामान हरि शंकर गिरी नागा बाबाको सपना साकार पार्ने तयारी
नेपालगन्ज, १८ कात्तिक — नेपालगन्ज उपमहानगरपालिका–२ स्थित श्री हनुमत गौशाला आश्रममा गुरुकुल पाठशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। गुरुकुल पाठशाला निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन भएपछि निर्माण योजनालाई मूर्तरूप दिन स्थलगत नापजाँच तथा सर्भेको काम सुरु गरिएको हो।
परम आदरणीय श्री श्री १००८ अनन्त विभूषित ब्रह्मलीन श्रद्धेय गुरुदेव हिरामान हरि शंकर गिरी नागा बाबाको सपना र परिकल्पनालाई साकार पार्ने उद्देश्यले गुरुकुल पाठशाला निर्माण योजना अघि बढाइएको गौशाला व्यवस्थापन समितिले जनाएको छ।
निर्माण योजनालाई कार्यान्वयनको चरणमा पुर्याउन बिहीबार प्राविधिक टोलीको उपस्थितिमा गौशाला परिसरमा स्थलगत नापजाँच तथा सर्भे कार्य सम्पन्न गरिएको छ। लुम्बिनी प्रदेश सरकारकी सांसद अधिवक्ता अम्बिका काफ्लेको पहलमा चालु आर्थिक वर्षको बजेटबाट उक्त योजनाका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको हो।
यसैबीच, गुरुकुल पाठशाला निर्माण योजनालाई सहयोग पुर्याउने सांसद काफ्ले, सामाजिक अभियन्ता सुर्जलाल यादव तथा प्राविधिक दिल बस्याललगायतलाई गौशाला परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा स्वागत तथा सम्मान गरिएको छ।श्री हनुमान गढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र हनुमत गौशालाका पदाधिकारीहरूले अतिथिहरूलाई खादा ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा सांसद अधिवक्ता अम्बिका काफ्लेले गुरुकुल पाठशाला निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक तथा शैक्षिक महत्त्व बोकेको यस योजनालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, सामाजिक अभियन्ता सुर्जलाल यादवले गुरुकुल पाठशाला निर्माणले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई संस्कार र नैतिक शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गौशाला तथा मन्दिर व्यवस्थापन समितिले गुरुदेवको सपना साकार पार्ने यस अभियानमा सहयोग गर्ने प्रदेश सांसद काफ्ले, सामाजिक अभियन्ता यादव, प्राविधिक टोली तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।
समितिले गुरुकुल पाठशाला निर्माणलाई सफल बनाउन आगामी दिनमा पनि स्थानीय सरकार, प्रदेश सरकार, धार्मिक संघसंस्था, समाजसेवी तथा सम्पूर्ण सरोकारवालाबाट निरन्तर साथ, सहयोग, सल्लाह र सुझाव प्राप्त हुने विश्वास व्यक्त गरेको छ।गुरुकुल पाठशाला निर्माण सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा परम्परागत शिक्षाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


