नेपालगन्जमा जेन–जी युवाहरूको राष्ट्रिय जनमत पार्टीप्रति आकर्षण बढ्दो, विभिन्न वडाका युवा पार्टी प्रवेश
नेपालगन्ज, मंसिर १२ गते — नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका जेन–जी (Gen-Z) पुस्ताका युवाहरू राष्ट्रिय जनमत पार्टीप्रति आकर्षित हुँदै पार्टीमा आबद्ध हुने क्रम बढेको छ। यसैक्रममा बिहीबार राति नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका युवाहरूले राष्ट्रिय जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
पार्टीको नीति, सिद्धान्त, विचार र युवामैत्री एजेन्डाबाट प्रभावित हुँदै विभिन्न वडाका युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गरेको जनाइएको छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।पार्टीका सभापति रियाज अहमद शेष र पार्टी संरक्षक इरफान अहमद शेषको विशेष उपस्थितिमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १, २, ४, ७, ८, ११, १३, १४ र १८ का वडा इन्चार्जहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वडा नम्बर १ का रामनाथ मण्डल, वडा नम्बर २ का सकिल हल्वाई, वडा नम्बर ४ का शैलेन्द्र सिजापति, वडा नम्बर ७ का हनिफ मंसूरी, वडा नम्बर ८ का बेचन बनियाँ, वडा नम्बर ११ का मो. रजा, वडा नम्बर १३ का हासिम फारूकी, वडा नम्बर १४ का हाजी रमजान अलि राई तथा वडा नम्बर १८ की रिया पौडेललगायत स्थानीय नेताहरूको उपस्थिति थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रोशन चौधरीलगायत नेताहरूको समेत सहभागिता रहेको थियो।
युवाको सहभागिताले पार्टीलाई थप ऊर्जा मिलेको छ : पार्टी नेतृत्व
कार्यक्रममा पार्टी नेतृत्वले युवाहरूको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै नयाँ पुस्ताको ऊर्जा, सोच र क्षमतालाई राजनीतिक तथा सामाजिक रूपान्तरणमा उपयोग गर्नुपर्नेमा जोड दिएको थियो पार्टी संरक्षक इरफान अहमद शेषले युवाहरूको उत्साहपूर्ण सहभागिताले संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नवप्रवेशी युवाहरूलाई पार्टीमा हार्दिक स्वागत गरेका छन्। उनले युवाहरूको सक्रियता, नेतृत्व क्षमता र सिर्जनात्मक सोचलाई समाज तथा देशको विकाससँग जोड्नुपर्ने धारणा राखेका थिए।
त्यस्तै, पार्टी सभापति रियाज अहमद शेषले नवप्रवेशी युवाहरूलाई संगठनमा जिम्मेवार भूमिका निर्वाह गर्दै पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन आग्रह गरेका थिए।
विभिन्न वडाबाट युवाहरूको सहभागितासहित भएको यस पार्टी प्रवेशलाई नेपालगन्जमा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। युवाहरूको निरन्तर आबद्धताले आगामी दिनमा पार्टीको संगठन अझ सशक्त, गतिशील र प्रभावकारी बन्ने पार्टी नेतृत्वले विश्वास व्यक्त गरेको छ।
पार्टीमा प्रवेश गर्ने सम्पूर्ण नवप्रवेशी युवाहरूलाई राष्ट्रिय जनमत पार्टीले हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गरेको छ।


