२५ श्रावण २०८३, सोमबार

पछिल्ला केही वर्षयता नायिका करिश्मा मानन्धरको फिल्म क्षेत्रमा खासै सक्रियता छैन

एसीपी संवाददाता

१२ चैत्र २०७७, बिहीबार १५:१० मा प्रकाशित

काठमाडौ । पछिल्ला केही वर्षयता नायिका करिश्मा मानन्धरको फिल्म क्षेत्रमा खासै सक्रियता छैन । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘हिरोज’ प्रदर्शनमा आएको थियो । यसपछि उनले अन्य फिल्ममा अभिनय गरेकी छैनन् । बरु उनी आजभोलि सामाजिक र राजनीतिक विषयमा चासो व्यक्त गर्ने गर्छिन् । समाजका कतिपय विषयमा आवाज उठाउने गर्छिन् । समस्यामा परेकाहरुलाई सहयोग गर्न जुट्छिन् ।

कुनै बेला एकपछि अर्को फिल्मको छायांकनमा व्यस्त हुने करिश्मालाई कहिलेकाहीँ लाग्छ, म पनि कुनै बेला व्यस्त नायिका थिएँ । उनलाई कहिलेकाहीँ आफू सेलिब्रेटी हुँ भन्ने पनि सम्झनुपर्छ । पछिल्लो समय उनको दैनिकी फिल्ममा भन्दा पनि पढाइ र सामाजिक काममा बितिरहेको छ । जसले गर्दा करिश्मालाई अभिनेत्री पनि यही युगमा थिएँ भन्ने भुल्छिन् ।

पहिलो फिल्म ‘सन्तान’ मा काम गर्दा उनले अभिनय जानेकी पनि थिइनन् । अभिनय त परको कुरा फिल्म भन्ने के हो भन्ने पनि थाहा थिएन । ‘जब मैले पहिलो चलचित्रमा काम गर्ने मौका पाएँ, त्यतिबेला मलाई चलचित्र के हो भन्ने पनि थाहा थिएन, मैले कुनै चलचित्र हेरेकी पनि थिइनँ,’ करिश्मा भन्छिन्, ‘त्यतिबेला अहिलेजस्तो चलचित्र पनि निर्माण हुँदैनथे, मलाई लाग्छ, नेपाल टेलिभिजन पनि भर्खरै शुरु भएको थियो ।’

‘सन्तान’ मा काम गर्दा सहजै भए पनि दोस्रो र तेस्रो फिल्ममा अभिनय गर्दा भने काम गर्न गाह्रो भएको महसूस भएको करिश्मा बताउँछिन् । उनलाई त्यतिखेर लाग्यो अभिनय त गाह्रो काम रहेछ । सिक्नुपर्ने रहेछ । ‘चलचित्र क्षेत्रमा म कसरी आएँ भनेर आफै पनि अचम्म लाग्छ, न मेरो कुनै चलचित्रको पृष्ठभूमि थियो, न मेरो कोही साथीभाइ र इष्टमित्र थियो,’ करिश्मा सम्झिन्छिन् ।उनी त्यतिबेला फिल्म नेगेटिभमा बन्ने गरेको सुनाउँछिन् । ‘अहिले त डिजिटल प्रविधि छ, त्यतिबेला रिलमा फिल्म बन्थे, अहिले त धेरै नै सजिलो छ, त्यो बेलामा त्यस्तो थिएन, डबिङमा पनि ठ्याक्कै लबज मिलाउनुपर्ने अवस्था थियो, स्क्रिनमा आफ्नो अनुहार देखिएकै हुन्थेन,’ करिश्मा भन्छिन् । आफ्नो करिअरको शुरुवातमा नेपालमा फिल्मसम्बन्धी कुनै कार्यशाला नहुने पनि उनी बताउँछिन् ।

अहिले भने नेपालमा पनि फिल्मका कार्यशाला हुन्छन् । अभिनय सिकाउने कलेज छन् । ‘पहिलो फिल्मका लागि प्रकाश थापा ज्यूले स्क्रिन टेस्ट गर्नुभयो, पछि अभिनय सिकाएको खण्डमा गर्न पनि सक्छ होला भनेर फिल्ममा लिनुभयो,’ उनी भन्छिन्, ‘सिनेमाका बारेमा कुनै वर्कशप पनि थिएन, एकैपटक आउटलूकको भरमा काम गरेँ ।’ करिश्माले पहिलो फिल्म ‘सन्तान’ मा गौरी मल्ल, अर्जुनजंग शाही, भुवन केसीलगायत भएको स्मरण गर्छिन् ।‘त्यतिबेला सबै सिनियरसँग कसरी काम गर्ने होला भनेर मलाई अप्ठेरो पनि लागिरहेको थियो,’ उनी थप्छिन् । ‘न क्यामेराको एंगल थाहा थियो, न अभिनयबारे थाहा थियो,’ करिश्मा हाँस्छिन् । त्यो ताका आफूले कुनै कलाकारलाई पनि नचिनेको करिश्मा सम्झिन्छिन् । त्यतिबेला आफू रेडियो नेपालमा कविता भन्न जाने र त्यही बेला भुवन केसी गीत गाउन जाँदा देखेको उनी स्मरण गर्छिन् ।

‘मैले भुवन केसीलाई देखेकी थिएँ, उहाँ साँच्चिकै राम्रो देखिनुहुन्थ्यो, रातो स्विटर लगाउनुभएको थियो,’ आफूले देखेका पहिलो सेलिब्रेटी भुवनका बारेमा करिश्मा सुनाउँछिन् । करिश्मा पहिलो फिल्ममा काम गर्दा धेरै कुरा सिकेको र यही फिल्मका दौरान आफूले गाडी सिकेको पनि बताउँछिन् । फिल्ममा गाडी चलाउनुपर्ने दृश्य थियो । त्यसका लागि उनले गाडी सिकेकी थिइन् ।त्यो बेला उनी १४ वर्षकी थिइन् । ‘धेरै फिल्मबाट अफर आयो, जबकि त्यो बेला निकै कम फिल्म निर्माण हुन्थे,’ उनी सम्झिन्छिन् । पहिलो र दोस्रो फिल्ममा अभिनय गरेपछि भने आफू अभिनय सिक्न भारतको मुम्बई गएको उनी बताउँछिन् । ‘त्यतिबेला हामीले डबिङदेखि धेरै कुरामा हामी बाहिर गएर गीत रेकर्ड देख्थ्यौं । पछि बिस्तारै नेपालमा पनि चुनौती लिन थाल्यौं,’ उनी सुनाउँछिन् ।

करिश्मा भन्छिन्, ‘त्यतिबेला हामीले जसरी काम गरेका थियौं । त्यो सम्झिँदा पनि रमाइलो लाग्छ ।’ फिल्म क्षेत्रमा काम गरिरहेका बेला बीचमा केही समय अमेरिका गएको र पछि पढाइमा लागेकाले फिल्म क्षेत्रबाट टाढिएको करिश्मा बताउँछिन् । कहिलेकाहीँ बाहिर हिँड्दा फ्यानहरु सेल्फी खिच्न आउँदा आफूलाई कुनै बेला म पनि नायिका थिएँ भन्ने लाग्ने गरेको उनको भनाइ छ । ‘कहिलेकाहीँ म आफैलाई लाग्छ कि, साँच्ची म पनि फिल्म क्षेत्रमा थिएँ है ?’ उनी भन्छिन् । खबरहबबाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x