पाकिस्तानमा फेरि हिन्दू धर्मावलम्बीको मारी माता मन्दिरमा तोडफोड
एजेन्सी – पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीको कोरङ्गी क्षेत्रमा बुधबार हिन्दू धर्मावलम्बीको मारी माता मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा रहेको मुर्तिलाई अपवित्र गरिएको खबर पनि आएको छ ।
प्रहरीले यस मामिलामा एफआइआर दर्ता गरेर कानुनि कारवाही अगाडि बढाए पनि आक्रमणपछि उक्त क्षेत्रमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरुमा डरको माहोल सृजना भएको छ ।
अखिल कराँची मद्रासी हिन्दू पञ्चायतका अध्यक्ष एसके शमीमले भने, “अज्ञात व्यक्तिहरुको समूह बन्दुक लिएर मन्दिर परिसरमा प्रवेश गरेको थियो । उनीहरूले मन्दिरका पुजारीलाई बोलाउनुहोस् वा कुनै ठूला व्यक्तिलाई ल्याइदिनु भनेका थिए । यो संयोग हो कि त्यतिबेला त्यहाँ कोही थिएनन् । उनीहरुले मन्दिरको रंग र सरसफाई गर्ने बालबालिकालाई धम्की दिए ।”
बालबालिकाहरुलाई धम्की दिएपछि उनीहरुले पहिला भगवान हनुमान मन्दिर र त्यसपछि गणेश मन्दिर भत्काए र फेरि आउछौँ भनेर फिर्ता गएको स्थानीयहरुले बताएका छन् ।
अखिल कराँची मद्रासी हिन्दू पञ्चायतका सदस्य र स्थानीय बासिन्दा सञ्जीव कुमारले भने, “हामी सन् १९६१ देखि यस क्षेत्रमा बस्दै आएका छौं । यहाँ यस्तो पहिले कहिल्यै भएको थिएन ।”
कराचीमा करिब एक सय तमिल हिन्दू परिवारहरू बसोबास छ । जसमध्ये १५ परिवार कोरङ्गी क्षेत्रमा र बाँकी मद्रासी पारामा बस्छन् । मद्रासी पारा कराँची क्यान्टोनमेन्टको छेउमा छ ।
बुधबार यो घटना भएको बेला मारी अम्मान पर्वका लागि मारी माताको मन्दिर रंगाइँदै थियो ।


