प्रधानमन्त्री ओली नेतृत्वले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत-निधि

कांग्रेस उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको आरोप लगाएका छन् ।
बीपी कोइरालाको १०७ औं जन्मजयन्तिका अवसरमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रतिष्ठानका संयोजकसमेत रहेका निधिले अन्तर्राष्ट्रिय सम्बन्धलाई सहीरुपमा अबलम्बन गर्न नसकेका कारण छिमेकी भारतसँगको सम्बन्ध जटिल मोडमा पुगेको बताए ।
‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बीपी कोइरालाको योगदान’ बिषयक अन्तरसंवाद कार्यक्रममा निधिले सरकारले चीनसँग निकट हुने र भारतसँग टाढिनेखालको असन्तुलित सम्बन्धका कारण नेपाललाई नै अप्ठ्यारोमा पार्ने काम सरकारले गरिरहेको निधिको भनाई थियो । बीपीले दुई विशाल मुलुकसँग राखेको सन्तुलित सम्बन्धको परराष्ट्र नीतिलाई पछ्याउनु पर्ने बताउँदै निधिले सरकारमा छँदा एउटा र बाहिर बस्दा अर्को परराष्ट्र नीति हुन नसक्ने बताए ।
भर्चुअल गोष्ठीमा पूर्वराजदूत तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश सल्लाहकार रहेका दिनेश भट्टराईले नेपालको भूराजनीतिक अवस्थाका बारेमा लामो व्याख्या गरेका थिए । भट्टराईले बीपी, जेपी (गिरिजाप्रसाद कोइराला) र केपी ओली नेतृत्वको सरकारले अलम्बन गरेको परारष्ट्र नीतिका बारेमा तुलानात्मक विवेचना गरेका थिए । सभार ईकान्तिपुर



