१७ कार्तिक २०८३, सोमबार

फातिमा फाउण्डेसन नेपालको अध्यक्षमा मैमुना सिद्धिकी चयन मुस्लिम महिलाको हकअधिकार र सशक्तीकरणमा फाउण्डेसनको योगदान प्रशंसनीय : मेयर विष्ट

एसीपी संवाददाता

१७ कार्तिक २०८३, सोमबार १४:१८ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, कात्तिक १५ — फातिमा फाउण्डेसन नेपालले आफ्नो २२औँ साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले मैमुना सिद्धिकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा गंगा वली, महासचिवमा हुमा अख्तर, सहसचिवमा कैकसा अन्सारी, कोषाध्यक्षमा सुवेदा फरहिन र सहकोषाध्यक्षमा राधा केवट चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा साकरा खातुन, सफिया खातुन, हसिना मुकेरी, रुकैया हलवाई, रिहाग शेषलगायत गरी ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फातिमा फाउण्डेसन नेपालले मुस्लिम महिलालाई संगठित गर्दै नेतृत्व विकास र सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै प्रशंसा गरे।

उनले फाउण्डेसनले मुस्लिम महिलालाई घरको सीमाबाट बाहिर निस्केर सामाजिक गतिविधिमा सहभागी हुने वातावरण निर्माण गरेको उल्लेख गर्दै संस्थाको योगदान प्रशंसनीय रहेको बताए। नयाँ कार्यसमितिले आगामी दिनमा अझ सक्रियताका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले संस्थापक अध्यक्ष मोहम्मदी सिद्धिकीको सम्मानमा प्रदान गरिँदै आएको समाज सेवा पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उक्त पुरस्कारको आर्थिक जिम्मेवारी समेत नगरपालिकाले लिने उनले बताए।अधिवेशनमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरूले फातिमा फाउण्डेसन नेपालले स्थापनाकालदेखि नै मुस्लिम महिलाको हकअधिकार, सामाजिक सहभागिता र सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे। संस्थाको निरन्तर प्रयासका कारण मुस्लिम महिलाहरू संगठित हुन, आत्मनिर्भर बन्न र आफ्ना अधिकारबारे सचेत हुन सफल भएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठ, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्का र शाह, पूर्वसांसद तथा फातिमा फाउण्डेसन नेपालकी संस्थापक सदस्य लक्ष्मी तिवारी, राष्ट्रिय मानवअधिकार आयोगकी अध्यक्ष द्वारिका अधिकारी, संस्थाका सल्लाहकार विश्वजित तिवारी, सहिल अन्सारी, रविन्द्र कर्ण, इन्सेक प्रतिनिधि टेकनाथ आचार्य तथा नारी कल्याण केन्द्रकी नारायणी रुपाखेतीलगायतको उपस्थिति थियो।अधिवेशनमा संस्थापक सदस्य इरफान सिद्धिकीले आर्थिक प्रतिवेदन, लेखापरीक्षक मन बहादुर भण्डारीले लेखापरीक्षण प्रतिवेदन र हुमा अख्तरले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य कैकसा अन्सारीले गरेकी थिइन्।

मैमुना सिद्धिकीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मुस्लिम महिलाको अधिकार संरक्षण, नेतृत्व विकास, आत्मनिर्भरता र सामाजिक सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x