भेरी अस्पतालमा सिटी स्क्यान सेवा पुनः सञ्चालन: बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो
नेपालगन्ज — पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रको रूपमा रहेको भेरी अस्पतालमा विगत करिब दुई वर्षदेखि प्राविधिक कारणले बन्द रहेको सिटी स्क्यान (CT Scan) सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
मेसिनमा आएको प्राविधिक खराबी (ट्युबको समस्या) का कारण लामो समयदेखि यो सेवा अवरुद्ध बन्दै आएको थियो। हाल मर्मत तथा नयाँ प्रविधिको बन्दोबस्त भएपछि सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ।
अबदेखि बिरामीहरूले विशेषज्ञ चिकित्सकको सिफारिसमा अस्पतालबाटै भरपर्दो, सुरक्षित र गुणस्तरीय सिटी स्क्यान सेवा लिन सक्नेछन्। लामो समयसम्म सेवा बन्द हुँदा यस क्षेत्रका बिरामीहरू महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्था वा बाहिरका अस्पताल जान बाध्य थिए। सेवा सञ्चालनमा आएपछि बिरामीको अनावश्यक आर्थिक खर्च र समयको बचत हुनेछ। सेवा सुचारु भएसँगै समयमै रोगको सहि पहिचान गरी प्रभावकारी उपचार गर्न बिरामी र चिकित्सक दुवैलाई सहजता पुग्नेछ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले भेरी अस्पतालमा आउने बिरामीहरूको चाप र आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी, आधुनिक र बिरामीमैत्री बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। सेवा सुचारु भएपश्चात विशेष गरी बाँके, बर्दिया लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण बिरामीहरूले प्रत्यक्ष राहत महसुस गरेका छन्।


