यातायात मन्त्री एवं जसपाकी नेतृ रेणुकुमारी यादवको मन्त्रालयमा कर्मचारीमाझ बिचौलिया परिचालन गरेर असुली आतंक
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जसपाकी नेतृ रेणुकुमारी यादव अहिले चौतर्फी दबाबमा छिन् । आफ्नै बोली उनलाई घाडो भएको छ । कहाँ के बोल्ने भन्ने हेक्का वा तमिज नभएकी रेणुमाथि मन्त्री पदबाट राजीनामाको चौतर्फी दबाब छ । तर उनले राजीनामा दिएकी छैनन् । बोल्ने तमिजसमेत नभएकी रेणुले सरकारमा मन्त्री भएर राम्रो काम पनि गर्न सकेकी छैनन् । उनले आफ्नो मन्त्रालयमा कर्मचारीमाझ बिचौलिया परिचालन गरेर असुली आतंक मच्चाएको ओपन सेक्रेटजस्तै बनेको छ ।
नामूद दलालसँग मिलेर मन्त्रालयमा बेमौसमी सरुवा आतंकले विवादमा तानिएकी रेणु मान्छे मार्नेजस्तो भड्किलो र हिंसा भड्काउने अभिव्यक्ति दिएर चौतर्फी दबाबमा परेकी हुन् । रौतहटमा भएको एक कार्यक्रममा जिम्मेवार पदमा बहाल रेनु यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतप्रति लक्षित गर्दै गौर हत्याकाण्ड दोहोर्याउने र घेरेर मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । निजको अभिव्यक्तिविरुद्ध प्रतिपक्षी पार्टी मात्र नभै सत्तासिन दलकै नेताहरु तीव्र विरोध गरेका छन् । नेताहरु तथा नागरिक समाजले रेणुको राजीनामा मागेका छन् । तर रेणुको दल जसपा भने बचाउ गरेको छ । सीके राउतलाई प्रतिबन्ध लगाउन माग गर्दै रेणुको अभिव्यक्तिबारे भने मौन छ ।
काम नगरेर बदनामी कमाएका विवादास्पद ठेकेदार एबम् दलाल प्रवृत्तिका विचौलिया राजकिशोर गुप्तामार्फत सेटिङ मिलाइ आर्थिक असुली कार्यमा रेणु सक्रिय छिन् । गुप्ता सरकारी अड्डामा नामूद दलालका रुपमा चिनिन्छन् । जुन पार्टी सरकारमा आयो उसकै चाकरी गरेर, त्यतिले नपुगे दलको सदस्यतासमेत लिएर गुप्ताले दलाली गर्दै आएका छन् । बदनाम गुप्तासँग मिलेर आदिवासी-मधेसी जनताको रगतको योगदानको बलमा मन्त्री बनेकी रेणु भने ‘यहीँ हो अन्तिम मौका’ भनेजसरी कमाउ धन्दामा लागेकी छन् ।
रेणुको यस्तो हर्कतका कारण जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नै असन्तुष्ट बनेका छन् । विगतमा पार्टी फुटाउन समेत अग्रसर रेनु अवसर नपाए पार्टी छोड्छु भनेर पटक पटक नेतृत्वलाई दबाब दिने गरेकी रेणु अवसर पाएपछि व्यक्तिगत स्वार्थमा डुबेर पार्टीलाई समेत ठुलो हानी हुनेगरी काम गर्दै आएकी छन् । यो क्रमलाई अहिले पनि सरकारमा सहभागी भएर निरन्तरता दिएकी छन् ।
उनले विवादित ठेकेदार गुप्ता बोकेर उनीमार्फत सरुवादेखि विभिन्न योजनाहरुबाट पैसा असुलीलाई तीव्रता दिएकी छन् । मन्त्रालय तथा बिभागका कर्मचारीहरुका अनुसार सरुवामा एकै जनाबाट लाखौ रुपैयाँ उठाइएको छ ।
गुप्ताले तपस होटल बत्तीसपुतली तथा होटल हिमालयमा सरुवाको डिल गर्ने गरेका छन् । एक प्रत्यक्षदर्शीले नेपालपानालाई बताएअनुसार विभिन्न व्यक्तिसँग डिल गर्दै हिँड्ने गुप्ता दुई झोलाभरी पैसा बोकिरहेको अवस्थामा हालै देखिएका थिए । उनले मन्त्री र सचिवसँग एकमुस्ट ६० करोड उपलब्ध गराउने भनेर सरुवा बढुवामा कर्मचारीसँग मनोमानी रकम माग्दै हिँडेका छन् । विभिन्न आयोजनामा कार्यरत कर्मचारीसँग पनि मन्त्रीको नाम लिएर पैसा माग्ने र नदिए दुर्गममा सरुवा गरिदिने धम्की दिने गरेको पीडित कर्मचारीहरु गुनासो गर्छन् । गुप्ताका कारण सडक विभाग र अन्तर्गतका इन्जिनियरदेखि सुईसम्म आतंकित बनेका छन् । गुप्ता छायाँ मन्त्रीजस्तो गरी भूमिकामा आएको कर्मचारीहरुको अनुभव छ ।
गुप्ताको गलत सल्लाह र पैसाको भोकले मैमत्त रेणुले आफ्नै पार्टीका शिर्ष नेताहरुलाइ समेत नटेरेको पाइएको छ । पैसाभन्दा ठुलो केही होईन भन्ने ठानी उनले थोरै पनि नैतिकता नदेखाइ डिइ लगायत कर्मचारीहरुलाइ अन्यायपूर्ण तवरले हटाउने/राख्ने गरेकी छन् । पैसा बुझाउन नसक्ने सिनियर डिइहरुलाइ बिभागमा थन्क्याइ योजनाहरुमा कनिष्ठहरुले गुप्तामार्फत मन्त्रीलाई घुस खुवाइ निमित्त चलाइरहेका छन् । मन्त्री र सचिब सरुवामा मात्रै केन्द्रित हुँदा हुनुपर्ने जति बजेट खर्च हुन सकेको छैन भने कामसमेत अत्यन्तै धीमा गतिमा हुने गरेको छ ।
कहाँ कहाँ चलखेल ?
मन्त्रालयका उच्च कर्मचारीले दिएको जानकारीअनुसार गुप्ताको सल्लाहमा रेणुले सिनियरलाई हटाएर कनिष्ठ ल्याउनेदेखि आफ्नो सचिवालयमा समेत जसपाको कार्यकता भन्दा अर्को पार्टीको मान्छे कृष्णदेव यादवलाई महत्त्व दिने गरेकी छन् । जो औपचारिक रुपमा सचिवालयमा आवद्ध छैनन् । एक हिसाबले नामूद दलाल राजकिशोर गुप्ताले मन्त्री रेणुलाई चलाइरहेका छन् ।
ठेकेदार गुप्ताकै योजनामा कास्की सडक डिभिजन पोखराको प्रमुखमा ५० लाख अग्रिम लिई कनिष्ट डीई पारस हमाललाई पठाइएको छ । जबकि, मध्यपहाडी लोकमार्ग पर्वतका नारायणदत्त भण्डारीलाई कास्कीमा सरुवा गर्नका लागि जसपाका गण्डकी कमिटीको सिफारिस थियो । तर मन्त्री यादवका सल्लाहकार ठेकेदार गुप्ताले हमालसँग आधा करोड लिएपछि जसपाको सिफारिस लत्याइयो ।
सरुवा बढुवामा कतिसम्म चलखेल भएको छ भने एकैपटक सबैतिर सरुवा गरिएको छ । मन्त्री नै संलग्न भएपनि यसमा भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठसमेतले गलतको विरुद्ध बोल्न सकेका छैनन् । सचिब नितान्त रबर स्ट्याम्प बनेका छन्, उनलाइ आफ्नो लुर्सिको मात्रै चिन्ता छ । उल्टै सचिबले सामान्य सरुवा माग्न जाने कर्मचारीहरुलाइ पनि गुप्ता सङ्ग भेट्न भन्ने गर्छन्, यसबाट यो आर्थिक डिलमा सचिब समेत मिलेको प्रष्ट हुन्छ ।
जसको फाइदा गुप्ताले खुलेयाम उठाइरहेका छन् । गुप्ताको योजनामा पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठलाई करिडोरमा थन्क्याइएको छ । पुल महाशाखामा उमेशबिन्दु श्रेष्ठलाई लगिएको छ । अरबौंको मदन भण्डारी आयोजनाको प्रमुख श्रेष्ठलाई मन्त्रीको दबाबमा पुल महाशाखा प्रमुखमा लगिएको छ । पुलकै बिषयमा पीएचडी गरेका सहसचिव बिजय जैशीलाई उत्तर दक्षिण आयोजनामा पुर्याइएको छ । गुणस्तर महाशाखा समेत उनीबाट खोसिएको छ । सडक विभागको सम्भार महाशाखाका प्रमुख बरिष्ठ सुई भीमार्जुन अधिकारीलाई करिडोरमा सरुवा गरी उनीभन्दा कनिष्ट प्रभात झालाई ल्याइएको छ । हालै हुलाकी सडक योजना धनगढीबाट डी.इ. निरज शाक्यबाट ४० लाख रुपैयाँ रकम लिइ गल्छी रसुवागढी सडक योजनामा सरुवा गरेर सो ठाँउमा २ महिना अगाडि मात्रै पुगेका डी.इ. मुलुन्द अधिकारीलाई अन्यायपुर्ण तवरले बिभाग तानिएको छ । यसअघि मध्यपहाडी पालुङटार कार्यलयमा ३५ लाख रुपैया लिएर डी.इ. सुनिल रन्जितकारलाइ पठाउदा त्यहा राम्रो काम गरिरहेका डी.इ. रामबहादुर गुरुङलाई पनि अन्यायपुर्ण तरिकाले बिभाग तानिएको छ, जसकारण सो खण्डमा हाल कामको प्रगति शुन्यप्राय: छ । महत्त्वपूर्ण मानिएको काठमाडौं डिभिजन प्रमुख डी.इ. नारायणप्रसाद निहुरे लाई धम्क्याउदै असुल गर्नमा गुप्तादेखी मन्त्रीकै परिवारका सदस्यहरु तल्लीन छन् । गुप्ताले देखाएको पैसा आउने बाटो पछ्याउँदा मन्त्री यादवले राम्रो काम गर्नेलाई थन्क्याउने र भ्रष्ट पृष्ठूभूमिका अख्तियारको कठघरामा परेकाहरु पुरस्कृत हुँदै राम्रो ठाउँमा पुगेका छन् । यसले जनजीविकासँग जोडिने भौतिक पूर्वाधार सडकको काममै असर पुग्नेमा मन्त्रालयका कर्मचारी चिन्तित छन् । मन्त्रीका नाममा बिचौलिया बनेर ठेकेदारले रकम माग्दै सरुवामा मोलमोलाई गर्न थालेपछि मन्त्रालयमा असन्तुष्टि बढेको छ । यस प्रकरणले जसपा पार्टीलाई पनि आगामी चुनावमा ठुलो धक्का लाग्ने प्रष्ट भएकोले पार्टीका सचेत कार्यकर्ताहरु बिद्रोहमा उठ्ने तयारीमा समेत रहेका छन् जसले गर्दा स्वयं मन्त्री रेणु यादवको कुर्सी धरापमा परेको छ ।


