साउदीको दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी केन्द्र खोलिने
अरशद शेष राई एसिपी न्यूज संवाददाता -साउदी अरेबिया
साउदी अरेबियास्थित नेपाली राजदूताबास रियादले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । यसका लागि राजदूताबासले आइतबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।
साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद शहर भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले नेपालीहरूको बाक्लो उपस्थिती रहेको शहरहरूमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय स्थापना गरिने भएको दूतावासको जनाएको छ ।
नेपाली दूतावासले जनाए अनुसार अगामी ५ फेब्रुअरी २०२१ दमाममा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको साउदी अरेबियास्थित राजदूताबासले जानकारी गराएको हो ।
दमाम, जुवेल, अलहासा, रास्तानुरा, खोबर, कतिफ एवम् सो क्षेत्रको आसपासको स्थानमा रहेका नेपालीहरूले
राहदानीको लागि अनलाइन फाराम भर्नका लागि आफैंले वा आफ्ना साथीभाईको सहयोगमा अथवा सूचनामा दिएको लिंकबाट यथाशीघ्र अनलाईन फारम भरी पठाउँन राजदूताबासले भनेको छ ।
५ फेब्रुअरी २०२१ पछि केही समयको लागि अस्थायी कार्यालय सञ्चालन गरी राहदानी आवेदन संकलन गर्ने कार्य स्थगित गरिने भएकाले उक्त मितिमा आवेदन दिन दूतावासले अनुरोध गरेको छ । राहदानीको म्याद ६ महिना भन्दा कम रहेकाहरूले मात्र आवेदन दिनुपर्ने दूतावासको बिज्ञप्तीमा उल्लेख छ ।



