सुरक्षा परियोजना अन्तर्गत अभिमुखीकरण कार्यक्रममा सम्पन्न
खानेपानी , सरसफाइ र स्वच्छता (WASH), लैंगिक समानता, विपद् जोखिम व्यवस्थापन, र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी विषयहरूमा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयको छ । उक्त कार्यक्रम बाँके युनेस्को क्लब र राजापुर नगरपालिका द्वारा संयुक्त रूपमा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा आयोजित गरिएको थियो।
सुरक्षा परियोजना अन्तर्गत आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा WASH समिति सदस्यहरू, विद्यालय व्यवस्थापन समिति (SMC)/अभिभावक-शिक्षक संघ (PTA) का प्रतिनिधिहरू र बाल क्लब सदस्यहरू गरी जम्मा ४५ जना सहभागी थिए।
कार्यक्रमको उद्देश्य विद्यालयको नीतिहरू, पूर्वाधार तथा अभ्यासहरूमा लैंगिक समानताको समझदारी अभिवृद्धि गर्नु, विद्यालय निर्णय प्रक्रियामा छात्रा, लैंगिक अल्पसंख्यक तथा पछाडि पारिएका समूहहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैंगिक विभेद घटाउनु, र सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरणको सुनिश्चितता गर्नु थियो।
कार्यक्रम राजापुर नगरपालिकाकी उप–प्रमुख श्रीमती मन्कला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँले विपद् जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनु भयो।
राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद् फोकल पर्सन श्री खुसिराम चौधरीले विद्यालयसँग सम्बन्धित सम्भावित विपद् (जस्तै भूकम्प, बाढी) का जोखिमहरू, विद्यालय सुरक्षा योजना र आपतकालीन तयारीका आधारभूत जानकारी, विद्यालय सुधार योजनामा जोखिम न्यूनीकरण उपायहरूको समावेश, जलवायु परिवर्तनको प्रभाव सम्बोधनजस्ता वातावरणमैत्री अभ्यासहरूको प्रवर्द्धन, र हरित विद्यालयको अवधारणाबारे छलफल गर्नुभयो। साथै, उहाँले जलवायु शिक्षालाई पाठ्यक्रम र विद्यालय गतिविधिमा समावेश गर्न प्रोत्साहित गर्नुभयो।
उहाँले विद्यालय व्यवस्थापन समिति (SMC), अभिभावक-शिक्षक संघ (PTA), र WASH समितिको समावेशी, सुरक्षित र दिगो विद्यालय वातावरण निर्माणमा महत्वपूर्ण भूमिका रहेको कुरा जोड दिनुभयो। कार्यक्रम फिल्ड सुपरभाइजर प्रमिशा थारुले सञ्चालन गर्नुभएको थियो ।




