१५–२० वर्षको संघर्षपछि रफीकुनले पाइन् नागरिकता र राष्ट्रिय परिचयपत्र, श्रम संस्कृति पार्टीको पहल सफल
दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक १७ — विगत १५ देखि २० वर्षदेखि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट वञ्चित हुँदै विभिन्न निकायमा न्यायका लागि भौतारिरहेकी बाँकेकी रफीकुन अन्सारीले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी छन्। श्रम संस्कृति पार्टीको निरन्तर पहल, पैरवी र प्रशासनिक समन्वयपछि उनले लामो समयदेखि खोजिरहेको कानुनी पहिचान प्राप्त गर्न सफल भएकी हुन्।
श्रम संस्कृति पार्टीका प्रस्तावित केन्द्रीय सदस्य कालीमिया (कस्मिरा खातुन) को विशेष पहलमा रफीकुनले नागरिकता प्राप्त गर्न सफल भएकी हुन्।श्रम संस्कृति पार्टीका प्रस्तावित केन्द्रीय सदस्य कालीमिया (कस्मिरा खातुन) को विशेष पहलमा रफीकुनले नागरिकता प्राप्त गर्न सफल भएकी हुन्।
नेपालगञ्ज उपमहानगरपालिका–१६ की स्थायी बासिन्दा रफीकुनको विवाह बर्दियाको राजापुरमा भएको थियो। विवाहपछि उनले श्रीमान्बाट लामो समयसम्म घरेलु हिंसा तथा विभिन्न प्रकारका अत्याचार सहनुपरेको बताइएको छ। त्यसमाथि नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने सेवा–सुविधा उपभोग गर्न र आफ्ना कानुनी अधिकार प्रयोग गर्नसमेत कठिनाइ भोग्दै आएकी थिइन्।
नागरिकताको अभावमा वर्षौंदेखि पहिचानविहीन जीवन बिताउन बाध्य उनको समस्यालाई मध्यनजर गर्दै गरिब, दुःखी, पीडित तथा असहाय नागरिकको हकहितका पक्षमा आवाज उठाउँदै आएको श्रम संस्कृति पार्टीले नागरिकता दिलाउन विशेष पहल गरेको थियो।पार्टीको निरन्तर पैरवी, आवश्यक कानुनी सहजीकरण तथा सम्बन्धित प्रशासनिक निकायसँगको समन्वयपछि रफीकुनले कात्तिक १७ गते बर्दियाको राजापुरस्थित इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रसँगै राष्ट्रिय परिचयपत्रसमेत प्राप्त गरेकी हुन्।
लामो समयको संघर्ष, अन्योल र प्रतीक्षापछि कानुनी पहिचान प्राप्त गर्न सफल भएपछि रफीकुनले खुसी व्यक्त गर्दै यस प्रक्रियामा सहयोग गर्ने प्रशासनिक निकाय तथा सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेकी छन्।
यसैबीच, पीडित महिलालाई नागरिकता दिलाउने प्रक्रियामा सकारात्मक र सहयोगी भूमिका निर्वाह गरेको भन्दै श्रम संस्कृति पार्टी तथा स्थानीय अभियन्ताहरूले राजापुरस्थित इलाका प्रशासन कार्यालयका प्रमुखसहित सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन्।
श्रम संस्कृति पार्टीका समर्थकहरूले यस उपलब्धिलाई एक महिलाले नागरिकता प्राप्त गरेको घटनामा मात्र सीमित नराखी वर्षौंदेखि राज्यको पहिचान र अधिकारबाट वञ्चित नागरिकले न्याय प्राप्त गरेको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।‘गरिब, असहाय र पीडित नागरिकको हक–अधिकारका लागि हाम्रो संघर्ष सधैँ जारी रहनेछ’ भन्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीका समर्थकहरूले ‘जय माटो, जय देश, जय हर्कवाद’ को नारासमेत लगाएका छन्।
रफीकुनले नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गर्नु उनको व्यक्तिगत जीवनमा नयाँ सुरुवात मात्र नभई कानुनी पहिचानबाट वञ्चित अन्य नागरिकका लागि पनि आशा र न्यायको सन्देश बनेको छ।


