ईरान माथी फ़ेरि आक्रमण गर्नेछौ – अमेरिका
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् ।
द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ । सम्झौता हुन नसके वासिङ्टनले पुनः सैन्य आक्रमण सुरु गर्न सक्ने चेतावनी उनले दोहोर्याएका छन् ।
इरानी सरकारी टेलिभिजनले एउटा मस्यौदा सम्झौताको विवरण सार्वजनिक गरेलगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो । उक्त कथित मस्यौदामा हर्मुज जलडमरुमध्य (स्ट्रेट अफ हर्मुज) पुनः खोल्ने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने उल्लेख थियो । ह्वाइट हाउसले भने उक्त विवरणलाई ‘पूर्ण रूपमा कपोलकल्पित’ भन्दै खारेज गरिदिएको छ ।
गत साताको अन्त्यतिर दुवै पक्षले वार्तामा प्रगति भएको संकेत गरेपछि छिट्टै सम्झौताको घोषणा हुन सक्ने अड्कलबाजी गरिएको थियो । तर, तेहरानले तत्कालै सम्झौता भइहाल्ने अवस्था नरहेको प्रस्टायो भने ट्रम्पले पनि आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको बताएका थिए ।
बुधबार मन्त्रिपरिषद् बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उनीहरू जसरी पनि सम्झौता गर्न चाहन्छन्- मलाई लाग्दैन कि उनीहरूसँग अन्य कुनै विकल्प छ । उनीहरू निकै कमजोर अवस्थामा पुगेर वार्ता गरिरहेका छन् ।”
उनले अगाडि थपे, “अहिलेसम्म कुरा मिलिसकेको छैन र हामी यसबाट सन्तुष्ट छैनौँ, तर पछि हुन सक्छौँ । कि त सम्झौता हुनुपर्छ, नत्र हामीले यो कामलाई टुंगोमा पुर्याउनुपर्ने हुन्छ ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा ‘केही प्रगति र चासो’ देखिएको उल्लेख गर्दै आगामी केही घण्टा वा दिनभित्र थप प्रगति हुन्छ वा हुँदैन भन्ने कुरा प्रस्ट हुने बताएको बिबिसीले उल्लेख गरेको छ । ट्रम्प र रुबियो दुवैले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै आशावादी त देखिए, तर दुई देशबीच कुन-कुन विषयमा असहमति कायम छ भन्नेबारे विस्तृत विवरण भने दिएनन् ।



