२९ माघ २०८२, बुधबार

ओलीको अहंकार र सत्तालिप्साकै कारण तत्कालीन नेपालको यो अवस्था

एसीपी संवाददाता

२७ कार्तिक २०८२, बुधबार १७:०० मा प्रकाशित

नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेता डा. भीम रावलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि शब्दैपिच्छे आगो ओकेलेका छन्।

ओलीको अहंकार र सत्तालिप्साकै कारण तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्घटनाग्रस्त भएको आरोप लगाउँदै रावलले ‘जम्बो जेट’ जहाजको पाइलटले सेतीको खोँचमा लगेर खसालेको जस्तो नियति पार्टीले भोगेको सुनाए।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित स्वागत तथा एकता घोषणा समारोहमा बोल्दै नेता रावलले ओलीको कार्यशैली, व्यवहार र राजनीतिक विचलनमाथि शृंखलाबद्ध र कठोर प्रहार गरे।

तत्कालीन नेकपाको एकतालाई ‘जम्बो जेट’ जहाजसँग तुलना गर्दै रावलले त्यसका दुई पाइलट (ओली र प्रचण्ड) मध्ये मुख्य क्याप्टेन ओलीले जहाजलाई दुर्घटना गराएको बताए।

‘कमरेड प्रचण्ड र केपी ओलीले हामी दुई पाइलट यो जम्बो जेटलाई सुरक्षित रूपमा उडाउँछौँ भन्नुभएको थियो,’ भावुक हुँदै रावलले भने, ‘तर क्याप्टेनले त पोखराको सेतीको खोँचमा हाल्दै गर्दा अर्को सहायक चालक र पछाडि बसेका हामी यात्रुहरू आँखाबाट आँसु बगाउँदै आफ्नो जीवनको अन्तिम दिन गनेजस्तो मात्र गर्न सक्यौँ।’ उनले थपे, ‘हामीले पछाडिबाट चिच्यायौँ, करायौँ, रोयौँ, क्रन्दन गर्‍यौँ,  ए क्याप्टेन साहब, जहाज नडुबाउनुहोस् !’

रावलले ओलीमाथि झुट र जालझेलको राजनीति गरेको आरोप लगाए। पार्टी एकता जोगाउन १० बुँदे सहमति गर्दा ओलीले दिएको वचन र पछि गरेको व्यवहार ठीक उल्टो रहेको उनको भनाइ थियो।

उनले भने- ‘कमरेडहरू, तपाईंहरूले कम्युनिष्ट आन्दोलन बचाउनुभयो। अब कुनै पक्षपात हुनेछैन,’ रावलले विगत सम्झँदै भने, ‘तर पछि उहाँले नै चुप लाग्, मेरो अगाडि कोही बोल्न पाउँदैन, उखरमाउलो भा’छ भने पार्टी छोडेर जाऊ भन्दै ईश्वर पोखरेल, युवराज ज्ञवाली जस्ता नेताहरूलाई अपमान गर्नुभयो।’

ओलीको दोहोरो चरित्रको आलोचना गर्दै रावलले भने, ‘एक पटक ‘गइहाल’ भन्ने, अनि केही समयपछि ‘लुरुलुरु फर्किएर आए’ भन्ने ? यस्तो त उहिले गाउँघरमा जाली फटाहाहरूले बोल्छन् भन्ने सुनेको थिएँ, मलाई त त्यस्तै पो लाग्यो।’

नेता रावलले ओलीले झापा आन्दोलन र सुखानेका सहिदहरूको रगतको समेत अपमान गरेको गम्भीर आरोप लगाए।

‘मैले त ठानेको थिएँ, सुखानेको जंगलमा बगेको रगतको उज्यालो उहाँको मन-मस्तिष्कमा सधैँ रहनेछ,’ उनले भने, ‘तर कारागारमा बस्दा-बस्दा उहाँ बाहिर निस्किँदा त, उहाँले त्यो रगतलाई ‘अलकत्रा’ पो बनाउनुभएछ।’

आफ्नो सम्बोधनमा रावलले देशको राष्ट्रिय सुरक्षामाथि चिन्ता व्यक्त गरे। उनले जेन-जी आन्दोलनअघि शक्तिशाली देशको सैन्य विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ टन सामान ओराल्दा पनि सरकार मौन बसेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘एउटा व्यक्तिले अध्याँरो रातमा कुनै देशको गुप्तचरसँग भेटघाट गरेर त्यसको दुई दिनपछि आँखा झिम्क्याउँदा त प्रतिनिधिसभा विघटन पो भइसकेछ।’

उनले कम्युनिष्ट पार्टीले अब राष्ट्रिय सुरक्षाको नीतिलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

एकता समारोहमा रावलले आफूहरूले ठूलो आकांक्षासहित बनाएको नेकपा एक व्यक्तिको अहंकारले ढलेको इतिहासबाट पाठ सिक्दै अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x