नरैनापुरमा विपद् जोखिम न्यूनीकरण तथा लैङ्गिक हिंसा सहजीकरण सामग्री परीक्षण कार्यशाला सम्पन्न
नरैनापुर, बाँके। रेन परियोजनाको आयोजनामा आज नरैनापुर गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण एवं आपात्कालीन अवस्थामा हुने लैङ्गिक हिंसा सहजीकरण सामग्री परीक्षण कार्यशाला सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले गर्नुभएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख शाहले विपद्को समयमा समाजका सिमान्तकृत र जोखिमयुक्त वर्गको सुरक्षा सुनिश्चित गर्न यो कार्यशाला महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यशालामा गाउँपालिकाका विपद् शाखा प्रमुख विनोद चौधरी र महिला तथा बालबालिका शाखा प्रमुख कृष्ण चन्दको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नरैनापुर गाउँपालिकाका ६ वटै वडाका सामुदायिक विपद् व्यवस्थापन समितिबाट ३/३ जना गरी कुल २३ जना सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आपात्कालीन अवस्थामा लक्षित वर्गको आवश्यकता र सुरक्षाका सवालमा आफ्ना अनुभव तथा सुझावहरू आदानप्रदान गरेका थिए।
यस कार्यशालामा विपद्का समयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनीकरण गर्न र राहत तथा उद्धार कार्यलाई समावेशी बनाउन तयार पारिएका विभिन्न सहजीकरण सामग्रीहरूको व्यवहारिक परीक्षण र समीक्षा गरिएको थियो। आयोजित छलफलले स्थानीय स्तरमा विपद् व्यवस्थापन समितिलाई थप जिम्मेवार बनाउँदै समुदायमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवधारणालाई संस्थागत गर्न ठोस मद्दत पुर्याउने अपेक्षा गरिएको छ।




