२९ कार्तिक २०८३, शनिबार

नेपालगन्जमा राष्ट्रिय जनमत पार्टीको वडा इन्चार्ज प्रशिक्षण सम्पन्न, मंसिर १ मा भव्य वार्षिकोत्सव मनाइने

एसीपी संवाददाता

२९ कार्तिक २०८३, शनिबार २०:०७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज,कात्तिक २८ गते — राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कार्यसमितिले उपमहानगरपालिकाका २३ वटै वडाका वडा इन्चार्जहरूलाई लक्षित गरी संगठन विस्तार, पार्टीको कार्यदिशा तथा आगामी राजनीतिक गतिविधिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष (बुलडोजर बाबा) को विशेष उपस्थितिमा सम्पन्न प्रशिक्षण कार्यक्रममा वडा तहको संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा पार्टीको नीति र उद्देश्यलाई जनस्तरसम्म पुर्‍याउने विषयमा प्रशिक्षण तथा निर्देशन दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संरक्षक शेषले संगठन निर्माण र विस्तारमा वडा इन्चार्जहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै पार्टीको उद्देश्य, नीति तथा आगामी कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै नेता तथा कार्यकर्तालाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “पार्टीको वास्तविक शक्ति वडा तहको संगठन र सक्रिय कार्यकर्ता हुन्। संगठनलाई बलियो बनाउन सबै वडा इन्चार्जहरू जिम्मेवार, अनुशासित र जनताप्रति उत्तरदायी भएर अघि बढ्न आवश्यक छ।” प्रशिक्षण कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक तथा सहभागी सबैलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो।

यसैबीच, प्रशिक्षण कार्यक्रमसँगै सम्पन्न भेलाले आगामी मंसिर १ गते राष्ट्रिय जनमत पार्टीको प्रथम वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ। वार्षिकोत्सवका अवसरमा बृहत् अन्तरक्रिया तथा विभिन्न राजनीतिक दलबाट पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने कार्यक्रम आयोजना गरिने निर्णय सर्वसम्मत रूपमा पारित भएको पार्टीले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्य अब्दुल गफुर खान, केन्द्रीय सदस्य तथा जिल्ला सभापति अब्दुल कादिर साई, केन्द्रीय सदस्यहरू राजेश बर्मा, रमजान अलि राई, रिजवान शेष, बेचन बानिया र रामनाथ मण्डललगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी युवा नेता सद्दाम खान, निजाम इद्रिसी, जिल्ला नेता शैलेन्द्र सिजापति, महिला नेतृ रिया पौडेल तथा बेबी बानो हल्वाईलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रशिक्षण कार्यक्रमले नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै आगामी राजनीतिक गतिविधिका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x