कांग्रेस वडा नं. १८ द्वारा शुभकामना आदान–प्रदान तथा विशेष सम्मान कार्यक्रम सम्पन्न
दिनेश ठाकुर नेपालगन्ज ,कात्तिक २८ गते — नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर १८, नेपालगन्ज बाँकेको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठ पर्व तथा गुरु नानक जयन्तीलगायत २०८३ सालका सम्पूर्ण चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस वडा नम्बर १८ का सभापति मंगल प्रसाद बर्मा (सानु)को सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जिल्ला सचिव शुधांशु कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सीता काफ्ले, कृष्णा सापकोटा चौधरी र गोपालप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो। त्यसैगरी नरेन्द्रकुमार चौधरी, प्रदीपकुमार शाह, धनराज बर्मा, विजय यादव लगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता बोकेको देश भएकाले सबै समुदायका चाडपर्वलाई आपसी सद्भाव र सम्मानका साथ मनाउनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले चाडपर्वले समाजमा भाइचारा, सामाजिक एकता, मेलमिलाप र सांस्कृतिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
सम्मानसँगै समाजसेवामा थप सक्रिय हुन आग्रह
कार्यक्रमको विशेष अवसरमा वडा नम्बर १८ बाट निर्वाचित जनप्रतिनिधिहरू तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गोपाल प्रसाद अधिकारी, ईश्वरी प्रसाद ज्ञवाली, ममता बर्मा, मख्खन धामी, केशु पोख्रेल र पूर्णिमा कटवल लगायत रहनुभएको थियो।सम्मानित व्यक्तित्वहरूको सामाजिक योगदान र सक्रियताको प्रशंसा गर्दै वक्ताहरूले आगामी दिनमा पनि वडाको विकास, सामाजिक सेवा र जनताको हितमा निरन्तर क्रियाशील रहन आग्रह गर्नुभयो।
पार्टी भवन निर्माणका लागि १० हजार १०० रुपैयाँ सहयोग
यसैबीच, नेपाली कांग्रेस वडा नम्बर १८ को पार्टी भवन निर्माण तथा व्यवस्थापनका लागि ईश्वरी प्रसाद ज्ञवालीले १० हजार १०० रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
उहाँको सहयोगप्रति आभार व्यक्त गर्दै वडा कार्यसमितिले पार्टी संगठनको सुदृढीकरण तथा भौतिक संरचना निर्माणमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ
कार्यक्रमले विभिन्न चाडपर्वका माध्यमबाट आपसी सम्बन्धलाई थप सुमधुर बनाउँदै समाजमा एकता, सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन हिरेन्द्र खड्काले गर्नुभएको थियो।


