नेकपाभित्र देखापरेको आन्तरिक द्वन्द्व समाधान र मेलमिलापका लागि नेताहरू गौतमसँग

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सेलाएको राजनीति बिस्तारै तात्न थालेको संकेत देखिएको छ । मिर्गाैला प्रत्यारोपणपछि ओली अस्पतालमै आराम गरिरहेका बेला उनी निकट दुई नेता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेट गरी विद्यमान राजनीतिक विषयमा कुराकानी गरेको खुलेको छ ।
मुख्यमन्त्री पोखरेलले आइतवार र ढकालले सोमवार गौतमसँग भेट गरेका हुन् । केहीअघि नेकपाभित्र देखापरेको आन्तरिक द्वन्द्व समाधान र मेलमिलापका लागि नेताद्वयले गौतमसँग भेट गरेको प्रचार गरिएपनि दुवै नेताले मेलमिलापबारेको प्रस्ताव लिएर आफूलाई भेट्न नआएको तर भेटमा राजनीतिक विषयमा कुरा भएको उपाध्यक्ष गौतमले लोकान्तर डट्कमसँग बताए ।
‘स्वास्थ्यमन्त्री ढकालले मलाई भेट्न मेरो निवासमै आउँछु भनेर फोन गर्नुभयो । मैले ठिकै छ नि त भनेपछि उहाँ मलाई भेट्न आउनुभएको हो, तर नेकपामा देखा परेको राजनीतिक विवाद समाधान र मेलमिलापको प्रस्ताव लिएर आएको हुँ भनेर उहाँले भन्नुभएन,’ गौतमले लोकान्तरसँग भने, ‘उहाँले राजनीतिक द्वन्द्वको निकासका लागि के सोच्नुभएको छ भनेर मलाई सोध्नुभयो ।
मैले प्रधानमन्त्री ओलीको समेत सहमतिमा नेकपा सचिवालयमा भएको निर्णय कार्यान्वयन हुनुपर्छ भनें । यदि भएन भने के हुन्छ भनेर उहाँले प्रतिप्रश्न गर्नुभयो। आफू समेत संलग्न बैठकले गरेको सर्वसम्मत निर्णय मान्दिनँ भनेर प्रधानमन्त्रीले भन्नुहुन्छ भन्ने कुरा मैले कल्पना पनि गरेको छैन, यदि मान्दिनँ भन्नुभयो भने गम्भीर दुर्घटना हुनसक्छ, नसोचेको र अप्रिय अवस्था आउँछ भनें।’
दुई साता (फागुन १४ गते) अघि नेकपा सचिवालयले राष्ट्रिय सभामा मनोनयनका लागि उपाध्यक्ष गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णय भएको केही घण्टामै प्रधानमन्त्री ओलीले नेकपाका केही शीर्ष नेतालाई फोन गरेर आफूलाई घेराबन्दीमा पार्न खोजिएकाले राष्ट्रिय सभामा गौतमलाई लैजाने निर्णय कार्यान्वयन नगर्ने र युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए ।
ढकाल र तपाईंबीच पार्टीभित्र देखिएको राजनीतिक अविश्वासका बारेमा थप के–के छलफल भयो भन्ने लोकान्तरको प्रश्नमा गौतमले थपे, ‘उहाँ (स्वास्थ्यमन्त्री ढकाल)ले यदि सचिवालयको निर्णय मान्दिनँ भनेर प्रधानमन्त्रीले भन्नुभयो भने कस्तो दुर्घटना हुन्छ भन्न खोज्नुभएको हो भनेर प्रतिप्रश्न गर्नुभयो । मैले सचिवालयको निर्णय मान्दिनँ भन्नुभयो भने उहाँमाथि कारवाही हुन्छ भनें । किनभने पार्टीको निर्णय नमान्ने जोसुकैलाई पनि कारवाही हुँदै आएका थुप्रै उदाहरण छन् भनेर सम्झाएँ ।’
नेकपा सचिवालयले पार्टी अध्यक्षलाई कारवाही गर्ने अधिकार राख्छ त भन्ने अर्को प्रश्नमा गौतमले थपे, ‘पहिलो कुरा त आफू समेत संलग्न रहेको बैठकको सर्वसम्मत निर्णय अध्यक्ष ओलीले मान्नुहुन्नँ भनेर मैले कल्पना गरेको छैन । तर उहाँले सचिवालयको निर्णय मान्दिनँ भनेर भनेको कुरा बाहिर आइरहेको छ । उहाँले असन्तुष्टिसम्म व्यक्त गर्नुभएको होला, तर पार्टी निर्णय नै मान्दिनँ भनेर भन्नुभएको होला भनेर मैले सोचेको छैन । दोस्रो यदि उहाँले मान्नुभएन भने उहाँमाथि पार्टीले कारवाही गर्छ । तर त्यस्तो कारवाही नेकपा सचिवालयले गर्ने होइन, गर्न सक्दैन । पार्टी अध्यक्षमाथि कारवाही गर्ने विषय स्थायी कमिटी हुँदै केन्द्रीय समितिमा छलफलमा पुुग्ने विषय हो । छलफलपछि कारवाहीको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई हुन्छ । यदि ती तहमा यो विषय पुग्यो भने सचिवालयको निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने आवाज स्वाभाविक रूपमा उठ्ने छ, मैले यही विषय मन्त्री ढकाललाई जानकारी गराएँ ।’
प्रदेश ५ का मुख्यमन्त्री पोखरेलसँग तपाईंको के विषयमा कुरा भयो भन्ने प्रश्नमा उपाध्यक्ष गौतमले पोखरेलसँग राजनीतिक विषयमा सामान्य छलफल भएको र खासगरी प्रदेश ५ को स्थायी राजधानी तोक्ने विषयमा अलि बढी छलफल भएको जानकारी दिए ।
‘उहाँ (पोखरेल)ले प्रदेश ५ को केन्द्र कहाँ राख्दा उपयुक्त हुनसक्छ भनेर मेरो धारणा बुझ्न खोज्नुभयो । मैले सबै दृष्टिले दाङको भालुवाङमा प्रदेश ५ को केन्द्र राख्न सकिने आफ्नो धारणा सुनाएँ । भालुवाङलाई नयाँ शहरका रूपमा विकसित गर्न सकिन्छ । त्यसो गर्दा बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पूर्व, रोल्पा र कपिलवस्तुलाई पनि पायक पर्छ भनेर भनें ।सभार – न्युज साइड