नेपालगञ्जमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न: सगुन तिवारी प्रथम
नेपालगञ्ज, २६ साउन — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगञ्जमा “भिन्न परिवेश, साझा आकांक्षा” भन्ने मूल नाराका साथ नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नगरस्तरीय युवा क्लब सञ्जालको आयोजना तथा सामाजिक विकास मञ्च (SDF) बाँके र सङ्कल्प नेपाललगायतका संघ-संस्थाको सहकार्यमा “नेपालगञ्जका युवाहरूको वर्तमान अवस्था र भविष्यका सम्भावना” विषयमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतिस्पर्धात्मक वक्तृत्वकला प्रतियोगितामा नेपालगञ्जका युवाहरूले भोगेका चुनौती र भविष्यका सम्भावनाहरूबारे उत्कृष्ट प्रस्तुति दिँदै सगुन तिवारी प्रथम स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा बिनिशा शाही द्वितीय, मेहताब अलि तृतीय तथा टंक प्रसाद उपाध्याय सान्त्वना (चौथो) स्थान प्राप्त गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष आनन्दकुमार वर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख विष्टले युवाहरू राष्ट्र निर्माणका बलिया स्तम्भ भएको उल्लेख गरे। उनले स्थानीय सरकार युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सशक्तीकरणका लागि सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सुरुवातमा सञ्जालका पदाधिकारी मिथलेश पासीले स्वागत मन्तव्य प्रस्तुत गर्दै आयोजनाको उद्देश्यमाथि प्रकाश पारेका थिए। त्यसैगरी, सामाजिक विकास मञ्च (SDF) बाँकेका बृजेश ठाकुरले शुभकामना मन्तव्य व्यक्त गर्दै युवाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउनुपर्नेमा जोड दिए।
समारोहमा सङ्कल्प नेपालका प्रतिनिधि पप्पु यादव, सञ्जालका पदाधिकारीहरू सुश्मिता सिंह, रन्जित बर्मा, सालिया हास्मी, जेबा शेख, नन्दनी सोनि, प्रियन्सि रावल लगायत विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै सभापति आनन्दकुमार वर्माले प्रतियोगिता सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण संघ-संस्था, निर्णायक मण्डल, प्रतियोगी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।


