नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलीला महामहोत्सव आजदेखि सुरु, तयारी पूरा वृन्दावनका २५ कलाकारले रामायणका प्रसङ्ग मञ्चन गर्ने, नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्ने
दिनेश ठाकुर, नेपालगन्ज, असोज २४ — नेपालगन्जको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित १५९औँ रामलीला महामहोत्सव आज (आइतबार) देखि सुरु हुँदैछ। रामलीला सञ्चालक समिति, नेपालगन्जले शनिबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको महामहोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
घटस्थापनाको अवसर पारेर असोज २५ गतेदेखि सुरु हुने रामलीला महामहोत्सव नेपालगन्जस्थित ऐतिहासिक रामलीला मैदानमा १० दिनसम्म सञ्चालन हुनेछ। महोत्सवको विधिवत् शुभारम्भ आइतबार दिउँसो २ बजे भव्य शोभायात्रासहित गरिनेछ भने राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए।
उनका अनुसार मञ्च व्यवस्थापन, प्रकाश व्यवस्था, कार्यक्रमस्थलको सरसफाइ तथा कलाकारहरूको बसोबासलगायतका काम सम्पन्न भइसकेका छन्।कलाकारहरूको सुरक्षालाई समेत विशेष प्राथमिकतामा राखिएको उनले बताए।
वृन्दावनका २५ कलाकारले रामायणका प्रसङ्ग प्रस्तुत गर्ने
यस वर्षको रामलीला महामहोत्सवमा भारतको वृन्दावनबाट आएका राधारमणको नेतृत्वमा २५ सदस्यीय कलाकार टोलीले रामायणका विभिन्न धार्मिक तथा पौराणिक प्रसङ्गलाई नाटकीय रूपमा प्रस्तुत गर्नेछ। कलाकार टोली नेपालगन्ज आइपुगिसकेको समितिले जनाएको छ।
हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने रामलीलामा भगवान् श्रीराम र माता सीताको जीवनसँग सम्बन्धित विभिन्न घटनालाई जीवन्त अभिनयमार्फत प्रस्तुत गरिनेछ।
रामलीला सञ्चालक समितिका प्रचारमन्त्री आदित्य गुप्ताका अनुसार श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप तथा शुभ राज्याभिषेक यस वर्षका प्रमुख आकर्षण रहनेछन्।
उनले रामायणका महत्वपूर्ण प्रसङ्गमार्फत धार्मिक आस्था, नैतिकता, सत्य, धर्म र असत्यमाथि सत्यको विजयको सन्देश प्रवाह गरिने बताए।
नेपालगन्जको गौरवसँग जोडिएको ऐतिहासिक महोत्सव
विगत १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला महामहोत्सव नेपालगन्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ। यसले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्दै आएको छ।
हरेक वर्ष रामलीला अवलोकन गर्न नेपालगन्जसहित बाँके तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा दर्शकहरू आउने गरेका छन्। यसले धार्मिक पर्यटन र स्थानीय सांस्कृतिक गतिविधिलाई समेत प्रोत्साहन गर्दै आएको छ।
रामलीला सञ्चालक समितिले यस वर्षको महामहोत्सवलाई सफल बनाउन सबै श्रद्धालु, स्थानीयवासी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आयोजना हुन लागेको १५९औँ रामलीला महामहोत्सवले नेपालगन्जको धार्मिक तथा सांस्कृतिक गौरवलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


