२१ कार्तिक २०८३, शुक्रबार

बजेट अभावमा सोचेजस्तो काम गर्न सकिएन : निशा शर्मा

एसीपी संवाददाता

५ फाल्गुन २०८०, शनिबार १०:१६ मा प्रकाशित

यस्ता छन् एक वर्षका उपलब्धि

एक वर्षे उपलब्धिहरू सार्वजनिक गर्ने क्रममा प्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कर्मचारी (प्रशासन) नियमावली २०८० निर्माण कार्य अघि बढाइएको, प्रतिष्ठानको कार्य सञ्चालन निर्देशिका अन्तिम चरणमा पुगेको, कलाकार परिचयपत्र वितरण कार्यविधि २०७४ संशोधनको अन्तिम चरणमा पुर्‍याईएको जानकारी गराएको छ।

प्रतिष्ठानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य अघि बढाइएको र हल निर्माणको पहल जारी रहेको जनाइएको छ। निर्देशन तथा अभिनयसम्बन्धी, लाइट तथा साउण्डसम्बन्धी प्रशिक्षण तथा कार्यशाला एवं साँस्कृतिक नाटक “गुनकेशरी” निर्माण गरी मञ्चन गरिएको छ। नेपाली लोक नाचको विगत र वर्तमान विषयक गोष्ठी, पँवरिया नृत्य सङ्गोष्ठी, मुकुण्डो नृत्य प्रतियोगिता, सारङ्गी र मादल प्रशिक्षण, मौलिक पञ्चेबाजा र खैँजडी प्रशिक्षण एवं गीत लेखकसम्बन्धी गोष्ठी आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

लोक सङ्गीत विभागद्वारा नेपाली लोक सङ्गीत ‘हिजो र आज’सम्बन्धी गोष्ठी, लोपोन्मुख ‘असारे तथा दाईँ गीत’सम्बन्धी गोष्ठी, वरिष्ठ लोक गायक हरिबहादुर राउतको अन्तरवार्तामा आधारित वृत्तचित्र, मौलिक ठेट गीतको स्वराङ्कन र छायाङ्कनसमेत गरिएको प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। यस्तै शास्त्रीय सङ्गीत उत्सव, पुन मगर समुदायमा प्रचलित पुख्र्यौली गीत सङ्गीत र ओखल्ढुङ्गाका राईको परम्परागत ‘दोलोकुम’ प्रस्तुत गरिएको थियो। वरिष्ठ गायक एवं सङ्गीतकार एलपी जोशी र शिवशङ्करको जीवनी र साङ्गीतिक योगदानमा आधारित वृत्तचित्र निर्माण भइरहेको जनाइएको छ।

बजेट अभाव

कुलपति शर्माले गएको एक वर्षमा गर्ने धेरै योजना हुँदाहुँदै पनि काम गर्न नसकिएको बताइन् । प्रतिष्ठानले प्रदेशस्तरीय नाट्य महोत्सव, संगीत नाट्य र नृत्यको अध्ययन अनुसन्धान, अन्तरराष्ट्रिय सम्मेलन र कार्यशाला, राष्ट्रिय सांस्कृतिक मेला, राष्ट्रियताप्रति ओतप्रोत हुने नाटक मञ्चन, सङ्गीत नाट्य प्रशिक्षण, त्रिदेशीय नाट्य महोत्सव, लोकगीत सम्मेलन, दोहोरी र जुहारी गीत सम्मेलन, नौमती बाजा अध्ययन, सङ्गीतको सैद्धान्तिक कार्यशालालगायत कार्यक्रम आयोजना गर्ने गरी योजना पेश गरिएको तर बजेटमा भारी कटौती हुँदा खुम्चिनु परेको उहाँले सुनाइन् । उनका अनुसार रु १५ करोड ३५ लाखको बजेट पेस गरिएकामा रु ५ करोड ४६ लाख मात्रै आएको र त्यो पनि प्रशासनिक बजेट धेरै भएकाले कार्यक्रम बजेट जम्मा ९० लाख मात्रै रहेको थियो। उनले आगामी वर्षका लागि १८ करोडभन्दा बढी आवश्यक रहेको भन्दै कार्ययोजना पेश गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा प्रतिष्ठानलाई चलायमान बनाउन सकिने बताइन् ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले मुलुकको संस्कृति र सांस्कृतिक विषयलाई राज्यले नबुझेसम्म रुपान्तरण सम्भव नहुने बताइन् । उपकुलपति राईले यसपटक परम्परागत कामलाई निरन्तरता दिने मात्रै होइन केही नयाँ काम गरौँ भन्ने सोच हुँदाहुँदै बजेट नआउँदा सम्भव नभएको बताइन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x