बाढीपीडितको राहतका लागि हाजी अनिस अहमद जसगढद्वारा ५१ हजार रुपैयाँ सहयोग
दिनेश ठाकुर, नेपालगञ्ज — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि नेपालगञ्जका प्रसिद्ध व्यवसायी तथा वरिष्ठ समाजसेवी हाजी अनिस अहमद जसगढले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
नेपालगञ्जस्थित नेपाल ज्वेलर्सका सञ्चालकसमेत रहनुभएका हाजी जसगढले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गर्नुभएको हो। प्राप्त भुक्तानी विवरणअनुसार उक्त रकम connectIPS मार्फत सफलतापूर्वक हस्तान्तरण गरिएको छ।
मानवीय संकटका बेला पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताउँदै हाजी जसगढले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षमताअनुसार योगदान गर्न आग्रह गर्नुभएको छ।
उहाँको यो सहयोगले विपद्का कारण समस्यामा परेका परिवारको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्व बहन गर्दै राहतका लागि सहयोग गर्नुभएकोमा स्थानीयवासी तथा शुभेच्छुकहरूले हाजी जसगढप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन्।
“दुःखको घडीमा सबै एक ठाउँमा उभिएर सहयोग गरौँ, मानवता जोगाऔँ।”


