पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गहुँ पठाउने प्रक्रिया र त्यसको तरिकाबारे भारत र पाकिस्तानका अधिकारीबीच सहमति भएको हो । भारत र पाकिस्तानबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध छ । तर, अफगानिस्तानमा खाद्यान्न पठाउने विषयमा पाकिस्तानले भारतलाई बाटो प्रयोग गर्न दिने भएको हो ।
भारतले आफ्ना वा अफगानिस्तानका ट्रकमा खाद्यान्न पठाउन चाहेको भएपनि पाकिस्तान राष्ट्रसंघको झन्डा प्रयोग गरेर मात्रै बाटो दिने बताउँद आएको थियो । तर पाकिस्तानको भूमिमा आफगानिस्तानका ट्रकको प्रयोग गरेर गहुँ लगिने सहमति बनेको हो ।
भारत र पाकिस्तान दुवैले तालिवान नियन्त्रित अफगानिस्तान सरकारलाई मान्यता दिएका छैनन् । तर, पाकिस्तान तालिवानप्रति ‘सफ्ट’ व्यवहार राख्छ । उसले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्दै आएको छ । तालिवानप्रति संशकित र उसलाई आतंकवादीको सहयोगी ठान्ने भारतले पनि त्यहाँका नागरिकको जीवन रक्षाका लागि सहयोग गर्न तत्परता देखाएको हो ।


