७ मंसिर २०८३, आईतवार

नेपालगन्ज–११ मा राष्ट्रिय जनमत पार्टीको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, २१ सदस्यीय टोल समिति गठन स्थानीय समस्या र विकासका सवालमा छलफल, जनताको अपेक्षाअनुसार अघि बढ्ने पार्टी नेतृत्वको प्रतिबद्धता

एसीपी संवाददाता

७ मंसिर २०८३, आईतवार २२:५२ मा प्रकाशित

नेपालगन्ज, मसिर ६ गते — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा राष्ट्रिय जनमत पार्टीको छलफल, अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा २१ सदस्यीय नयाँ टोल समिति समेत गठन गरिएको छ।राष्ट्रिय जनमत पार्टीका सभापति रियाज अहमद शेष र महासचिव राजा सिंहको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय नेता, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा नम्बर २ का इन्चार्ज सकिल हल्वाई, वडा नम्बर ८ का इन्चार्ज बेचन बनिया, वडा नम्बर ४ का इन्चार्ज शैलेन्द्र सिजापति र वडा नम्बर १ का कार्यवाहक इन्चार्ज रामनाथ मण्डलको उपस्थिति रहेको थियो। त्यसैगरी वरिष्ठ सल्लाहकार तथा समाजसेवी मो. रजा, समाजसेवी इसाक हासमी, राधेश्याम ठकुरी, मो. अलि राई र जिल्ला युवा नेता निजाम शेषलगायतको सहभागिता थियो।

अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले टोलका विभिन्न समस्या, विकास निर्माण, जनप्रतिनिधिको भूमिका तथा स्थानीय आवश्यकताका विषयमा आफ्ना धारणा र गुनासो राखेका थिए। विशेषगरी टोलको विकास निर्माणमा अपेक्षाअनुसार काम हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए।

स्थानीयले आगामी दिनमा जनताको समस्या बुझ्ने, विकास निर्माणलाई प्राथमिकता दिने र जनताप्रति जवाफदेही हुने जनप्रतिनिधि चयन गर्नुपर्ने विषयमा समेत छलफल गरेका थिए।
कार्यक्रममा पार्टी सभापति रियाज अहमद शेष र महासचिव राजा सिंहले स्थानीयवासीबाट प्राप्त सुझाव तथा गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको अपेक्षा र आवश्यकताअनुसार पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँहरूले भन्नुभयो, “जनताको आवाज र सुझाव नै हाम्रो लागि महत्वपूर्ण आधार हुन्। जनताले उठाएका समस्या तथा सुझावलाई आत्मसात् गर्दै पार्टीभित्र आवश्यक सुधार गरेर जनताको अपेक्षाअनुसार अघि बढ्नेछौँ।”

कार्यक्रममा सहभागी स्थानीयवासीले राखेका धारणा र सुझावलाई पार्टी नेतृत्वले सकारात्मक रूपमा लिएको जनाइएको छ। २१ सदस्यीय टोल समिति गठनसँगै वडा नम्बर ११ मा पार्टीको संगठन विस्तार तथा स्थानीयस्तरमा जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x