४ भाद्र २०८३, बिहीबार

म्यान्मा सशस्त्र समूहद्वारा चीन–म्यान्मा सीमामाथि कब्जा

एसीपी संवाददाता

३ माघ २०८०, बुधबार १३:४६ मा प्रकाशित

बैङ्कक, मङ्सिर १० गते । म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ दल जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् ।

अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए । गठबन्धनले दर्जनौँ सैन्य स्थानका साथै चीनसँग व्यापारका लागि महत्त्वपूर्ण एक सहरमाथि कब्जा गरेका छन् । यसबाट नगदको अभावमा परेको जुन्ताका लागि व्यापारिक मार्ग बन्द भएको छ ।

समूहसँग सम्बद्ध एक स्थानीय मिडिया आउटलेटका अनुसार म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए) ले आक्रामक हमला गरी किन सान क्यावत सीमा प्रवेशद्वारमाथि कब्जा गरेको छ । एमएनडिएए सशस्त्र गठबन्धनमध्येको एक समूह हो ।

“एमएनडिएएले आज बिहान किन सान क्यावत भनिने म्युज जिल्लाको मोङ्गको क्षेत्रमा एउटा अर्को सीमा प्रवेशद्वार कब्जा गरेको बताएको छ”, कोकाङ समाचारले आइतबार भनेको छ, “अराकान आर्मी (एए) र ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) सहितको गठबन्धनले शुक्रबार हमला सुरु गरेपछि सीमा व्यापार क्षेत्रमा अन्य सैन्य स्थानमा कब्जा गरेको थियो ।”

एक सुरक्षा स्रोतले एमएनडिएएले किन सान क्यावतमा सीमा व्यापार क्षेत्रमा आफ्नो झण्डा फहराएको एएफपीलाई बताएको छ । महामारीपछि सन् २०२२ मा पुनः प्रवेशद्वारा खोलिएको थियो र यो म्यान्मा–चीन सीमामा एउटा प्रमुख व्यापारिक विन्दु हो ।

साताको सुरुमा जुन्ताका प्रवक्ता ज मीन तुनले सरकारी मिडियालाई सीमापार नजिक रहेका करिब एक सय २० ट्रकमा सशस्त्र समूहहरूले आगो लगाएको आरोप लगाउनुभएको थियो ।

झडपहरूमा भएको वृद्धिले पहिलादेखि नै सङ्घर्षरत म्यान्माको अर्थतन्त्र र महत्त्वपूर्ण सीमापार व्यापारमा नोक्सान पुगेको छ भने सेनालाई अत्यन्त आवश्यक करहरू र विदेशी मुद्राबाट वञ्चित गराएको छ ।

किन सान क्यावत सीमामार्फत कारोबार हुने सामानहरूमा मेसिनरी, विद्युतीय उपकरण, कृषि ट्र्याक्टर र उपभोक्ता वस्तुहरू रहेका छन् । रासस/एएफपी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x