नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन: उप-महासचिव पदमा प्रदिप आचार्यको उम्मेदवारी, ७ बुँदे प्रतिवद्धता सार्वजनिक
नेपालगन्ज भदौ ४ गते — नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि युवा व्यवसायी प्र प्रदीप आचार्यले उप-महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। “तपाईंको विश्वास, मेरो प्रतिवद्धता: एकजुट व्यवसायी, समृद्ध बजार” भन्ने मुख्य नाराका साथ उहाँले चुनावी मैदानमा उत्रिने निर्णय गर्नुभएको हो।
उम्मेदवारी घोषणासँगै आचार्यले नेपालगन्जको समग्र आर्थिक विकास र व्यवसायीहरूको हकहितका लागि आफ्नो ७ बुँदे स्पष्ट चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको छ। उहाँका मुख्य प्रतिवद्धताहरू यस प्रकार रहेका छन्:
१. उत्तरदायी संघ: उद्योग वाणिज्य संघलाई उद्योगी तथा व्यवसायीहरूप्रति पूर्ण रूपमा जिम्मेवार र उत्तरदायी बनाउने।
२. चलायमान बजार: सुस्ताएको स्थानीय अर्थतन्त्र र बजारलाई थप गतिशील एवं चलायमान बनाउन विशेष पहल गर्ने।
३. नयाँ बजारको अवधारणा: सहरमा व्यवस्थित स्ट्रीटफूड, सेल मार्केट तथा हाट बजारहरू सञ्चालनमा ल्याउने।
४. उपयोगी परियोजना: व्यवसायीहरूको क्षमता अभिवृद्धि र व्यवसाय प्रवर्द्धनका लागि उपयोगी तथा व्यावहारिक परियोजनाहरू भित्र्याउने।
५. रात्रिकालिन बजार: नेपालगन्जको मुख्य व्यापारिक केन्द्र त्रिभुवन चोक क्षेत्र र पुष्पलाल चोक क्षेत्रलाई रात्रिकालिन बजार (नाईट मार्केट) को रूपमा विकास गर्न विशेष प्रयत्न गर्ने।
६. व्यवस्थित तरकारी बजार: स्थानीय तरकारी बजारलाई आधुनिक र व्यवस्थित बनाउने।
७. उच्च मनोबल: आर्थिक मन्दी र विभिन्न समस्याबाट गुज्रिरहेका हरेक साना-ठूला व्यवसायीको मनोबल उच्च बनाउन अभिभावकीय भूमिका निर्वाह गर्ने।
स्थानीय व्यवसायीहरू माझ लोकप्रिय र ऊर्जावान् छवि बनाएका आचार्यले यस पटक संघको नेतृत्व तहमा पुगेर उद्योगी-व्यवसायका समस्यालाई नजिकबाट समाधान गर्ने दाबी गर्नुभएको छ। नेपालगन्जलाई पश्चिम नेपालकै प्रमुख आर्थिक हब बनाउने योजनासहित चुनावी अभियानमा होमिएका आचार्यलाई व्यवसायीहरूको राम्रो साथ मिलिरहेको बुझिएको छ।


