८ कार्तिक २०८१, बिहीबार

यसरी खिचिँदैछ ‘प्रेमगीत ३’

एसीपी संवाददाता

१६ पुष २०७६, बुधबार १२:४६ मा प्रकाशित

कीर्तिपूरमा रहेको त्रिभुवन विश्वविद्यालयबाट करीब २ सय मिटर अगाडि हुइँकिएपछि वरिपरि टिनको पाताले बारिएको फराकिलो जमिनमा राजाका लागि एक ठूलो दरबार खडा गरिएको छ । दरबार झण्डै डेढ सय वर्ष पुरानो संरचनामा निर्माण गरिएको छ । दरबारभित्र राजाका लागि शयन् कक्ष, बैठक कक्ष, सभा हललगायत छन् । चुन ढुंगाबाट बनाइएको दरबारमा गएको करीब १५ दिनदेखि निकै चहलपहल छ । विहानदेखि मध्यरातसम्म मानिसहरु दौडधुप गरिरहेका देखिन्छन् । 

 शनिबार साँझ ५ बजे राजाको सुरक्षाका लागि तैनाथ दर्जन बढी सुरक्षाकर्मीहरु डेढ सय वर्ष पुरानो सैनिक पोशाकमा कम्मरको दुबै भागमा बञ्चरो र बन्दुक भिरेर उभिरहेका थिए । साढे ५ बजे सेनापतिलाई साथमा लिएर राजा दरबार नजिकै रहेको गुफाभित्र छिरे । जहाँ एक माता मधुरो बलिरहेको आगोको छेवैमा बसेर पुजाआजा गर्दै थिइन् । राजा उनको छेवैमा राखिएको काठको एक मुडामा गएर बसे । बन्दुक भिरेका सेनापति भने राजाको सुरक्षाका लागि नजिकै उभिए ।  यस्तैमा अचानक कसैले ‘एक्सन’ भनेको चर्को आवाज सुनियो । त्यो आवाज अरु कसैको थिएन, ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनको थियो । हातमा स्क्रिप्ट बोकेर उनी ‘एक्सन-कट’ गरिरहेका छन् । गुफाभन्दा बाहिर एउटा मनिटर राखिएको थियो, जसमा निर्देशक छेतेन गुरुङ माता र राजाको हाउभाउ र एक्सप्रेसन हेर्न व्यस्त देखिन्थे । खासमा, त्यहाँ यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ का लागि राजाले माता भेट्न गुफा गएको सिनको फिल्मांकन भैरहेको थियो ।  उक्त दरबार र गुफा फिल्मका लागि नै बनाइएको थियो । फिल्ममा अभिनेता शिव श्रेष्ठ राजाको भूमिकामा छन् । भने, माताको भूमिकामा अभिनेत्री लक्ष्मी बर्देवा र सेनापतिको भूमिकामा प्रेम पूरी छन् । त्यस्तै, फिल्ममा शिवको छोराको भूमिकामा अभिनेता द्वय प्रदीप खड्का र मनिष राउत छन् । शनिबार शिव, लक्ष्मी र प्रेमको सिन भएका कारण प्रदीप भने छायांकन स्थलमा देखिएनन् । ५० लाखभन्दा बढीको लागतमा बनाइएको भव्य सेटमा करीब १५ दिनदेखि छायांकन भैरहेको छ । 

 ‘गीत’ को भूमिकामा रहेकी नव-अभिनेत्री क्रिस्टिना गुरुङ, नव-अभिनेता मनिष राउत र अभिनेता प्रदीप खड्काको लुक्स सार्वजनिक गरेर निर्माण टिमले फिल्मको छायांकन सुरु गरेको थियो । ‘प्रेमगीत २’ मा मुख्य भूमिका समेत निर्वाहा गरेका सन्तोषले फिल्मको ४० प्रतिशत छायांकन सकिएको जानकारी दिए । अबको केही दिनमा फिल्मको बाँकी छायांकनका लागि जम्बो टोली मनाङ लाग्दैछ । त्यहाँ फिल्मको महत्त्वपूर्ण सिन खिचिने निर्माता टर्न निर्देशक सेनले बताए ।  ‘प्रेमगीत ३’ बाट अभिनयमा डेब्यू गर्न लागेकी अभिनेत्री क्रिस्टिनाको अहिलेसम्म एक सिन पनि खिचिएको छैन । उनको अधिकांश सिन मनाङमा छ । तर, उनी फिल्म छायांकनको माहोल हेर्न दैनिक सुटिङ सेटमा पुग्ने गर्छिन् । फिल्ममा उनको अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिएको छ । यही फिल्मबाट मनिष राउतले पनि अभिनयमा डेब्यू गर्दैछन् । नयाँ भए पनि उनको कामबाट दुई निर्देशक छेतेन र सन्तोष सन्तुष्ट देखिए । अब, दुईलाई क्रिस्टिनाले ‘कस्तो गर्छिन्’ भन्ने हल्का डर छ ।  

 केही दिनमा अभिनेता शिव श्रेष्ठ एक अवार्डमा सहभागी हुन अमेरिका जान लागेका कारण अहिले उनको सिन खिच्ने काम भइरहेको छ । सम्भवतः छायांकनका लागि मनाङ जानुभन्दा अगाडि नै अभिनेता शिवको राजाको लुक्स सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा उनलाई निकै भिन्न अवतारमा प्रस्तुत गरिएको छ । उनले यसलाई आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिकाको रुपमा लिएका छन् । उनी आफ्नो भूमिकाले दर्शक सरप्राइज हुने बताउँछन् ।  चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ को लागत ३ करोड अनुमान गरिएको छ । फिल्मको निर्माण लागतबारे निर्माता सेन भन्छन्, ‘अहिलेसम्म ३ करोडको अनुमान गरेका छौं । त्योभन्दा बढ्ने सम्भावना पनि छ । हाम्रो सबैभन्दा ठूलो खर्च सेट निर्माण र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको छ ।’ मनाङमा पनि फिल्मका लागि सेट निर्माण गरिँदैछ । यसका लागि प्राविधिक टोली केही दिन अगाडि नै मनाङ पुगिसकेको निर्माता सेनले जनाए ।  

 यो फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । फिल्ममा हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । कुमार सेन फिल्मका निर्माता हुन् ।  सभार / फिल्मीखबर, काठमाण्डौ,

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x