८ कार्तिक २०८१, बिहीबार

लुम्बिनी विकास कोषको विलासी गाडी खरिद प्रक्रिया रद्द

एसीपी संवाददाता

१४ माघ २०७६, मंगलवार १६:३३ मा प्रकाशित

माघ १४ गते समाचार एजेन्सी लुम्बिनी — लुम्बिनी विकास कोषले विलासी गाडी खरिद प्रक्रिया रद्द गरेको छ । उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष त्रिपाठीका लागि कोषले १ करोड ५८ लाख मूल्य पर्ने जापानी गाडी खरिद गर्न टेन्डर आह्वान गरेको थियो । बोलपत्र आह्वान गरेपछि एउटामात्र कम्पनीको आवेदन परेको थियो । प्रस्तावित मूल्यभन्दा एक रुपैयाँ कमको प्रस्ताव आएकाले खरिद प्रक्रिया रद्द गरिएको कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए । गाडी खरिद गर्दा बढी टीका–टिप्पणी भएर आमजनमानसमा नराम्रो सन्देश गएकाले प्रक्रिया खारेज गरिएको उनले भनाइ छ ।
खरिद प्रक्रियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको थियो । गत पुस २७ गते कोष परिषद् सदस्य बैजनाथ साहनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेर खरिद प्रक्रिया रद्द गर्न पर्यटनमन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
मन्त्रालयका कानुन उपसचिव राजन नेपालको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको थियो । सदस्यमा मन्त्रालयका लेखा उपसचिव गोपीचन्द्र भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापा र पर्यटन विभागका सचिन्द्र यादव थिए । स्थलगत अनुगमन, निरीक्षण र छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार निर्देशन दिएको थियो ।
अख्तियारको चासो, चौतर्फी विरोध र छानबिन टोली गठन भएपछि बाध्य भएर कोषले खरिद प्रक्रिया रद्द गरेको स्रोतले जनाएको छ । पजेरोका लागि निओन मोटर प्रालि काठमाडौंको एकमात्र टेन्डर परेको थियो । महिना दिनअघि उक्त गाडी बजारमा लन्‍च भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x