सुनसरी-सिराहा घटनाप्रति बाँकेमा सर्वदलीय बैठक: शान्ति सुरक्षा कायम गर्न भोलि सद्भाव र्याली निकालिने
बाँके — सुनसरी र सिराहामा भएका हिंसात्मक घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता घटना बाँके जिल्लामा दोहोरिन नदिन विभिन्न राजनीतिक दलहरूको सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
पूर्वमन्त्री तथा माननीय इस्तियाक राईको प्रमुख आतिथ्य र बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा उक्त बैठक बसेको हो। बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
बैठकले गरेका प्रमुख निर्णयहरू अनुसार, जिल्लामा आपसी सद्भाव र शान्ति कायम राख्नको लागि भोलि बिहानै विशेष सद्भाव र्याली निकालिने भाएको छ। राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र स्थानीय प्रशासनको संयुक्त सहभागितामा निकालिने सो र्यालीमार्फत सबैलाई संयमता अपनाउन र सामाजिक एकता कायम राख्न अपिल गरिनेछ।
सार्वजनिक स्थानमा चर्को स्वरमा डिजे तथा साउन्ड सिस्टम बजाउन पूर्ण प्रतिबन्ध लगाउने र धार्मिक र्यालीमा हातहतियारको प्रदर्शन निषेध गर्दै प्रतिकात्मक रूप मात्र प्रयोग गर्ने सर्वदलीय तथा सर्वपक्षीय निर्णय भएको छ। यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने गराउनेसमेत सहमति भएको छ। 


