२१ कार्तिक २०८३, शुक्रबार

१३ वर्षीया छोरीको अपिलपछि घाइते सुमित्राको खेतमा श्रमदाता हरूकोले गरे श्रमदान , छोरीको भावुक अपिलले जुटायो श्रमदाताको टोली, दुःखमा परेकी आमालाई श्रमदान र फलफूलसहित सहयोग

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार ०१:२७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, २० कात्तिक — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझाकी चट्याङ लागेर घाइते सुमित्रा बरालको दुःखमा श्रमदाताहरूले साथ दिएका छन्। अस्पतालमा उपचाररत बरालको घरमा १३ वर्षीया स्कुले छोरी मात्रै रहेकी र खेतमा पाकेको धान काट्ने तथा भित्र्याउने अवस्था नभएपछि ती बालिकाले सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरेकी थिइन्।

बालिकाको भावुक अपिलपछि श्रमसंस्कृति पार्टी बाँकेसँग आबद्ध श्रमदाताहरूको टोली बरालको खेतमा पुगेर श्रमदान गरेको हो। टोलीले बरालको पाँच कठ्ठा जग्गामा पाकेको धान काट्ने, खेतबाट बाहिर निकाल्ने र सुकाउने काम सामूहिक रूपमा सम्पन्न गरेको छ।आमाको स्वास्थ्य अवस्था कमजोर रहेको र पाकेको धान खेतमै नष्ट हुने चिन्तामा रहेकी बालिकाको अपिललाई आत्मसात् गर्दै श्रमदाताहरूले देखाएको सहयोगले परिवारलाई ठूलो राहत मिलेको छ।

धान काट्ने काम सम्पन्न गरेपछि श्रमदाताहरूले अस्पतालमा उपचाररत सुमित्रा बरालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै फलफूल प्रदान गरी शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

श्रमसंस्कृति पार्टीका तर्फबाट घाइते बराललाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।

‘दुःखमा परेका नागरिकलाई साथ दिनु नै साँचो समाजसेवा हो’ भन्ने भावना सहित गरिएको उक्त कार्यले सामाजिक एकता, मानवीय संवेदना र सामूहिक श्रमदानको महत्त्वलाई उजागर गरेको छ।अभियानमा वरिष्ठ श्रमदाता तथा जिल्ला श्रम संयोजक मेघराज सुनार, दण्ड शर्मा, राजन राना मगर, चाँद खाँ, मेराज अहमद हिमालय, असलम अन्सारी, मोहम्मद इम्तियाज राई चिश्ती, मोहम्मद रहीश हल्वाईलगायत श्रमदाताहरूको सक्रिय सहभागिता रहेको थियो।

१३ वर्षीया बालिकाले आमाको पीडा र परिवारको समस्यालाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै सहयोगका लागि गरेको साहसिक अपिलको श्रमदाताहरूले प्रशंसा गरेका छन्। साथै, मानवीय सेवामा हातेमालो गर्ने सम्पूर्ण श्रमदाताप्रति धन्यवाद व्यक्त गरिएको छ।

‘हाम्रो श्रम, कसैको सहारा। हाम्रो पसिना, मानवताको उपहार’ भन्ने मूल नाराका साथ ‘जय माटो, जय श्रमदान, जय हर्कवाद’ को संकल्प सहित सम्पन्न यस अभियानले दुःखमा परेकालाई सहयोग गर्न उमेर, अवस्था र परिस्थिति भन्दा माथि उठेर मानवीयता प्रदर्शन गर्नुपर्ने सन्देश दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x