राजनीतिलाई समाजसेवाको माध्यम बनाउने अजय वर्माको प्रतिबद्धता, जनताका समस्या समाधानमा जोड जनताको सेवामा चौबिसै घण्टा तयार रहने उद्घोष, वडा नं. १४ लाई नमुना वडा बनाउने लक्ष्य
दिनेश ठाकुर नेपालगन्ज, २० कात्तिक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का वडा सभापति एवं युवा समाजसेवी अजय कुमार वर्मा (कुर्मी) ले राजनीतिलाई पद र प्रतिष्ठाभन्दा माथि उठाएर निस्वार्थ समाजसेवाको माध्यम बनाउनुपर्ने बताउनुभएको छ।
उहाँले वडावासीका दैनिक समस्या समाधान गर्दै वडा नं. १४ लाई विकास, सुशासन र समृद्धिको नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका वर्माले राजनीति जनताको सेवा, सामाजिक रूपान्तरण र विकासको आधार बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले वडामा रहेका नागरिकका समस्या पहिचान गरी तिनको व्यावहारिक, प्रभावकारी र दिगो समाधानका लागि आफू निरन्तर क्रियाशील रहने बताउनुभयो।
“हाम्रो मुख्य प्राथमिकता भनेको जनताले भोग्दै आएका साना–ठूला समस्यालाई समयमै सम्बोधन गर्नु हो। राजनीति जनताको दुःख, पीडा र समस्यासँग जोडिनुपर्छ। वडावासीले प्रशासनिक वा अन्य कुनै समस्या भोग्नुपरेमा त्यसको समाधानका लागि हामी चौबिसै घण्टा जनताको साथमा रहनेछौँ,” वर्माले भन्नुभयो।उहाँले वडा नं. १४ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइ, युवाका लागि खेलकुद र रोजगारीका अवसर सिर्जना गर्नुका साथै भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राख्ने बताउनुभयो।
विकास निर्माणका काम पारदर्शी, जवाफदेही र जनमुखी हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
युवा पुस्ताको सक्रिय नेतृत्व र सहभागिताबाट मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै वर्माले युवाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्दै विकास र समृद्धिको अभियानमा जोडिन आग्रह गर्नुभयो।उहाँका अनुसार जनताको विश्वास जित्ने आधार भाषण र आश्वासन मात्र नभई व्यवहारमा देखिने काम, इमानदारिता र सेवाभाव हो। जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर सामाजिक तथा विकासका गतिविधि अघि बढाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
स्थानीय बासिन्दाहरूले पनि युवा समाजसेवी वर्माको सक्रियता, सामाजिक उत्तरदायित्व र जनतासँगको निरन्तर सम्पर्कलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले आगामी दिनमा वडा नं. १४ को समग्र विकास र नागरिकका समस्या समाधानमा उहाँले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।


