१२ श्रावण २०८३, मंगलवार

अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकल सहित ३ पक्राउ

एसीपी संवाददाता

१२ श्रावण २०८३, मंगलवार १४:३० मा प्रकाशित

सप्तरीमा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ३ बजे डाक्नेश्वरी नगरपालिका-३ स्थित तरही सडक खण्डमा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको लौकहीबाट तरहीतर्फ आउँदै गरेका मधेश प्रदेश ०६-००१-५१२७४ नम्बरको बजाज पल्सर मोटरसाइकल चालक २२ वर्षीय अख्तर र सोही मोटरसाइकलमा सवार १९ वर्षीय अमित कुमार रायलाई शंका लागी जाँच गर्दा रातो बोराभित्र विभिन्न किसिमका लत्ताकपडा फेला परेको थियो।

त्यसैगरी बीआर१४ई ०४३९ नम्बरको हिरो एचएफ डिलक्स मोटरसाइकल चालक २५ वर्षीय मोहम्मद इजरायलले मोटरसाइकलमा बाँधिएको सेतो बोराबाट पनि अवैध रूपमा ल्याइएका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त बरामद लत्ताकपडा, दुई वटा मोटरसाइकल र तीनै जनाको कुल मूल्य करिब रु. ३ लाख ६९ हजार ६ सय रहेको सप्तरी प्रहरीले जनाएको छ।

बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x