नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न आशा विष्टको आग्रह
दिनेश ठाकुर, नेपालगञ्ज । नेपाललाई पुनः सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसहित बाँकेको नेपालगञ्जमा दबाबमूलक कार्यक्रम सुरु भएका छन्। यसैक्रममा सामाजिक अभियन्ता आशा विष्टले नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्न सरकार र प्रमुख राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ।
बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै विष्टले हिन्दु राष्ट्रको मुद्दा नेपाली समाजको धार्मिक आस्था, मौलिक पहिचान, संस्कृति र परम्परासँग जोडिएको विषय भएकाले यसलाई राजनीतिक दलहरूले बेवास्ता गर्न नहुने बताउनुभयो।उहाँले नेपालको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै सनातन हिन्दु राष्ट्र कायम गर्ने अभियानमा सबै राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो। यस विषयमा सरकार र राजनीतिक दलहरूले जनभावनालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो।
नयाँ सरकारले गरेका सकारात्मक कामको प्रशंसा
अभियन्ता विष्टले हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै सरकारका कामप्रति आफ्नो धारणा व्यक्त गर्ने क्रममा नयाँ सरकारले गरेका केही सकारात्मक कामको प्रशंसासमेत गर्नुभयो। सरकारले गरेका राम्रा कामलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय हित, धार्मिक तथा सांस्कृतिक पहिचान र जनभावनासँग जोडिएका विषयमा पनि गम्भीर भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा सहभागी अन्य वक्ता तथा स्थानीय नागरिकहरूले पनि नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गर्ने मागप्रति समर्थन जनाएका थिए। उनीहरूले धर्म, संस्कृति र परम्पराको संरक्षणलाई राष्ट्रिय पहिचानसँग जोड्दै नेपाली मौलिकताको रक्षा गर्नुपर्ने बताएका थिए।
वक्ताहरूले धर्मनिरपेक्षताको अभ्यास र वैदेशिक प्रभावका विषयमा समेत चिन्ता व्यक्त गर्दै नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।
नेपालगञ्जमा आयोजित यस कार्यक्रमले हिन्दु राष्ट्रको मागलाई पुनः सार्वजनिक बहसमा ल्याएको छ। अभियानमा संलग्नहरूले आफ्नो माग सम्बोधन गराउन आगामी दिनमा पनि दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।


