उद्योग वाणिज्य संघको निर्वाचन र मनोनयनप्रति असन्तुष्टि: “उपेक्षित क्षेत्र र कमजोर वर्गलाई नेतृत्वले भद्दा मजाक गर्यो”
नेपालगन्ज, असाेज ४ — नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन र मनोनयन प्रक्रियालाई लिएर व्यवसायीहरू माझ असन्तुष्टि र आक्रोश बढ्न थालेको छ। सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै स्थानीय व्यवसायी पवन शर्माले संघको कार्यशैली र क्षेत्रगत प्रतिनिधित्वको विषयमा गम्भीर प्रश्न उठाएका छन्।
शर्माका अनुसार नेपालगन्ज उद्योग वाणिज्य संघ केवल नेपालगन्ज चक्रपथ (रिंगरोड) भित्रको भूगोलमा मात्र सीमित हुन पुगेको छ। उनले बैजनाथ, खजुरा, राप्तीसोनारी, नरैनापुर र डुडुवा जस्ता महत्त्वपूर्ण क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई संघले उपेक्षा गरेको आरोप लगाएका छन्।
“यी क्षेत्रका व्यवसायीहरूलाई संघले यहाँका कथित केही व्यवसायी नेताहरूलाई कानुनी मान्यता दिन मात्रै प्रयोग गर्ने गरेको छ,” शर्माले आक्रोश पोख्दै लेखेका छन्, “उनीहरूलाई निर्वाचनमा भोट हाल्नका लागि मात्र उपयोग गरिन्छ र पछि मनोनयनका नाममा किनारा लगाइन्छ।”
मनोनयन प्रक्रियाको आलोचना गर्दै उनले यसलाई “गोरखधन्दा” को संज्ञा दिएका छन्। शर्माले अगाडि थपेका छन्, “मनोनयन गर्दा उपेक्षित क्षेत्र र कमजोर वर्गलाई ध्यान नदिनु वा रोक्न खोज्नु नेतृत्वको गम्भीर त्रुटि हो। यो सम्बन्धित वर्ग र क्षेत्रप्रतिको भद्दा मजाक हो।”
वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा चक्रपथ बाहिरका ग्रामीण तथा अर्ध-शहरी क्षेत्रका व्यवसायीहरूले आफूहरूलाई केवल ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरिएको महसुस गर्न थालेका छन्। नेतृत्वले सबै क्षेत्र र वर्गलाई समान रूपमा समेट्न नसके यसले संघभित्र ठूलो असन्तुष्टि निम्त्याउने संकेत देखिएको छ।


