३१ असार २०८३, बुधबार

करबला: अन्यायका विरुद्ध सत्यको अमर गाथा

एसीपी संवाददाता

२० असार २०८२, शुक्रबार २२:०२ मा प्रकाशित

लेखक: डा. नूर मोहम्मद अन्सारी
प्रकाशन: १० मोहर्रम विशेषांक,

जब हामी “करबला” को नाम उच्चारण गर्छौं, तब आँखाभरि आँसु आउँछ र मनभित्र गहिरो पीडा गडेर आउँछ। करबला कुनै साधारण युद्ध थिएन, यो मानव सभ्यताको इतिहासमा त्यस्तो पवित्र बलिदानको प्रतीक हो जसले आज पनि सत्य, न्याय र मानवता को मार्ग देखाइरहेको छ।

इस्लामको इतिहासमा करबला त्यो पवित्र भूमि हो जहाँ सत्य, न्याय र धर्मका लागि एक पवित्र परिवारले आफ्नै रगतको आहुति दिए। यो केवल एउटा युद्ध थिएन; यो एक क्रान्ति थियो, जो अन्याय र अत्याचारको विरुद्ध अमर बन्यो। १० मोहर्रम, हामी त्यो ऐतिहासिक बलिदानलाई सम्झन्छौं जसले मानवतालाई न्याय, सब्र र दृढताको गहिरो पाठ सिकाएको छ।

सन् ६८० ईस्वीको १० मोहर्रम, इराकको करबला नामक मरुभूमिमा इमाम हुसैन अ.स. र उनका ७२ जना साथिहरूले यज़ीदको विशाल सेनासँग भोक, तिर्खा र घेराबन्दीका बीच अन्तिम साँस लिएका थिए। पानीको एक थोपा समेत नपाई हुसैनका साना बालकहरू छटपटाइरहेका थिए। एक तरफ अन्यायको फौज थियो, अर्कोतर्फ सत्यको मुट्ठीभर सिपाही।

यो केवल युद्ध थिएन — यो आत्मा र विवेकको परीक्षा थियो। हुसैन अ.स. को बलिदानले संसारलाई सिकायो कि शक्ति, सत्ता र संख्या नै सबै होइन। सत्यको मूल्य जीवनभन्दा माथि हुन सक्छ।

रसुलुल्लाह स.अ.का निधनपश्चात् इस्लामी शासनको उत्तराधिकार हजरत अबू बक्र, उमर, उस्मान र अन्ततः हजरत अली र अलीका छोरा हसन र हुसैनसम्म आइपुग्यो। यज़ीद, जो मुआवियाको छोरा थियो, शक्ति पिपासु, अत्याचारी र धर्मको नाममा राजशाही फैलाउन चाहन्थ्यो। इस्लामको मुल भावना– न्याय, करुणा र धर्म– विपरित भएर उसले जबरजस्ती खलीफा बन्ने कोसिस गर्‍यो।
यज़ीदले जब खलीफा बनेपछि, सबैबाट “बैअत” (वफादारीको शपथ) माग्न थाले। अधिकतर मान्छे डर, लोभ वा प्रलोभनमा परेर सहमत भए। तर हजरत इमाम हुसैन (अ.स.), रसुलुल्लाहका नाति र इस्लामका असल उत्तराधिकारीले यस अन्यायी शासनलाई मान्न अस्वीकार गरे। उहाँले स्पष्ट भन्नुभयो:
“म यज़ीद जस्तोलाई इस्लामको खलीफा मान्न सक्दिन।”

यज़ीदका शासन विरुद्ध कूफाका हजारौं मानिसहरूले इमाम हुसैनलाई खत लेखे र अनुरोध गरे:
“हामी तपाईंका साथ छौं, कृपया कूफा आउनुहोस् र हामीलाई नेतृत्त्व गर्नुहोस्।”
ती खतहरूमा वचन थियो कि “हामी तपाईंका लागि प्राण दिन तयार छौं।”
त्यसैको आधारमा इमाम हुसैनले आफ्नो कुटुम्ब सहित करबला यात्रा सुरु गर्नुभयो। तर यसबीच यज़ीदले कूफामा इब्ने ज़ियाद नामक निर्दयी गभर्नर पठायो जसले आतङ्क फैलायो, डरले गर्दा अधिकांश कूफावासीहरू डराएर चुप लागे वा धोका दिए।

मक्का देखि इराकको मरुभूमि “करबला” सम्मको यात्रा लामो र कठिन थियो। इमाम हुसैनसँग उनका परिवारका सदस्य, साथी–भाइ, महिलाहरू र नानीहरू थिए — कुल ७२ जना। करबला पुग्ने वित्तिकै यज़ीदका हजारौं सेनाले उहाँहरूलाई घेरे।
२ मुहर्रम ६१ हिजरी (680 ईस्वी) मा करबला आइपुग्नुभयो र १० मुहर्रम (Ashura) सम्म सात दिनसम्म पानीसमेत रोकेको भयो। यो समय उहाँले शान्तिपूर्वक सम्झौताका अनेक प्रयास गर्नुभयो, तर यज़ीद केवल झुक्न वा युद्ध गर्न चाहन्थ्यो।

१० मोहर्रम बिहान, इमाम हुसैनले अन्तिम नमाज पढ्नुभयो, आफ्ना साथीहरूलाई अन्तिम बिदाइ गर्नुभयो र एक–एक गर्दै उनका नातेदारहरू शहिद भए — अली अकबर (उहाँका जवान छोरा), अली असगर (६ महिनाको शिशु), अब्बास अलमदार, कासिम, हबीब, र अन्य धेरै साथीहरू।
अन्ततः, जब इमाम एक्ला रहनुभयो, तब उहाँ आफैँ रणभूमिमा जानुभयो। घाईते भए पनि उहाँको आवाज गुञ्जायमान थियो:
“यदि धर्म केवल मेरो रगतले बच्ने हो भने, ऐ तलवारहरू! आउ र मलाई चिरिदेउ!”
अन्ततः उहाँलाई निर्दयतापूर्वक शहीद गरियो। उहाँको टाउको काटियो र दमिश्क पठाइयो।

करबलाको दोस्रो अध्याय हुसैनकी बहिनी हजरत ज़ैनबले लेखिन्। जब सम्पूर्ण पुरुष शहीद भए, महिलाहरूलाई कैदी बनाएर श्याम (दमिश्क) लइयो। तर हजरत ज़ैनबले यज़ीदको दरबारमा बोल्दा सम्पूर्ण संसार स्तब्ध बन्यो। उनले भने:

“तिमी सोच्दैछौ करबला समाप्त भयो? होइन यज़ीद, करबला त आजबाट सुरु भयो।”

करबला आज किन सान्दर्भिक छ?

आजका समाजमा जहाँ झुट, अन्याय, लोभ र स्वार्थ हावी छन्, त्यहाँ करबला सत्य, इमानदारी, आत्मबल र न्यायको पाठ हो। इमाम हुसैनले देखाए कि:

सत्ताको समर्थन होइन, सिद्धान्तको रक्षा गर्नु पर्छ।

धर्म व्यापारको साधन होइन, आत्मशुद्धिको मार्ग हो।

अत्याचारका विरुद्ध मौन बस्नु पनि पाप हो।

करबला आज पनि बोलिरहेको छ — विद्यालयमा, अदालतमा, संसदमा, सडकमा र हाम्रो मनभित्र। इमाम हुसैन सन्देश दिइरहेका छन्, “जब अन्याय देख्छौ, त्यसको विरोध गर। चाहे त्यसको मूल्य तिमीले आफैं चुकाउनु परोस्।”

करबलाको सन्देश – ‘हर युगको आवाज’

मोहर्रम केवल शोकको महिना होइन, यो आत्मनिरीक्षणको समय हो। इमाम हुसैनले धर्म र मानवताको रक्षा गर्नका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरे। आज हामीले हुसैनको बाटो अपनाउनु छ — सत्य बोल्ने, अन्यायसँग जुध्ने र कमजोरको पक्षमा उभिने।

करबला सधैं सन्देश दिन्छ — ‘हकका लागि जिउ, बातिलसँग कहिल्यै सम्झौता नगर।’

आज हामी करबला सम्झन्छौं तर के हामी त्यो आत्मा, त्यो विचारलाई अपनाएका छौं? अन्याय देख्दा के हामी चुप लाग्छौं? कमजोरलाई सहयोग गर्छौं?
करबला हामीलाई सम्झाउँछ —
“सत्ताले होइन, सत्यले जित हुन्छ।”
“हुसैन आज पनि जीवित छन् — हर त्यो दिलमा जहाँ न्यायको रुवाइ छ।”
🖊️ लेखक: Dr. Noor Mohammad Ansari
(ACP News Nepal)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x