बाढीपीडितका लागि नेपालगञ्ज जामा मस्जिद–ईदगाह समितिद्वारा १ लाख ५१ हजार सहयोग
नेपालगञ्ज, भदौ १५ गते ।
बाढी तथा विपद्बाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि नेपालगञ्ज जामा मस्जिद–ईदगाह सञ्चालक समितिको पहलमा १ लाख ५१ हजार रुपैयाँ राहत सहयोग संकलन गरिएको छ।
समितिको पहलमा यस हप्ताको शुक्रबार जामा मस्जिद र कादरी मस्जिदमा नमाज पढ्ने नमाजीहरूबाट ८२ हजार रुपैयाँ संकलन भएको थियो। त्यसमा दारुल उलुम फैजुन नबी जामा मस्जिद–ईदगाहको कोषबाट ६९ हजार रुपैयाँ थप गरी कुल १ लाख ५१ हजार रुपैयाँ राहत रकम जुटाइएको हो।
संकलित रकम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने समितिले जनाएको छ।
विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको मानवीय सहयोग अभियान आगामी शुक्रबारहरूमा समेत निरन्तर सञ्चालन गरिने बताइएको छ। समितिले विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा थप सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ।
सहयोग अभियानमा साथ दिने सम्पूर्ण नमाजी, सहयोगदाता तथा नेपालगञ्ज जामा मस्जिद–ईदगाह सञ्चालक समितिप्रति दारुल उलुम फैजुन नबी जामा मस्जिद–ईदगाह सञ्चालक समितिका संयोजक मोहम्मद अयुब सिद्दिकीले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
उहाँले विपत्तिको समयमा पीडितको साथमा उभिनु नै सच्चा मानवता भएको बताउँदै सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“विपत्तिमा परेकाहरूको साथमा उभिनु नै सच्चा मानवता हो। सहयोग गरौँ, जीवन बचाऔँ।” भन्ने सन्देशसहित समितिले थप सहयोगका लागि समेत अपिल गरेको छ।


