१९ आश्विन २०८३, सोमबार

कोहलपुरको मेडिकल घटनामा पत्रकारलाई अनावश्यक जोडेको भन्दै पत्रकार महासंघ बाँकेद्वारा आपत्ति

एसीपी संवाददाता

१९ आश्विन २०८३, सोमबार १४:४९ मा प्रकाशित

नेपालगन्ज, असोज १९ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेले कोहलपुरस्थित एक मेडिकलमा भएको भनिएको स्वास्थ्य जाँचसम्बन्धी घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा पत्रकार तथा सञ्चारकर्मीलाई अनावश्यक रूपमा जोड्ने काम भइरहेको भन्दै कडा आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता सत्य, तथ्य, सन्तुलन र जिम्मेवारीमा आधारित पेसा हो। समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्दै घटनासँग जोडिएको व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको पूर्ण सम्मान गर्नुपर्छ।”

महासंघले केही व्यक्ति वा माध्यमबाट भिडियो सामग्री प्रसारण गर्ने, संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने र आर्थिक लाभ वा भ्युज (डलर) प्राप्त गर्ने उद्देश्यले सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्तिप्रति चेतावनी दिएको छ। यस्ता प्रवृत्तिले पत्रकारिताको मर्यादामा आँच पुर्‍याउने र जनविश्वास कमजोर बनाउने महासंघको ठहर छ।

साथै, सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोष्ट वा प्रसारित हुने प्रत्येक सामग्री सञ्चार माध्यम वा पत्रकारले तयार नपारेको स्पष्ट पार्दै, आचारसंहिता विपरीत कार्य भएमा त्यसको व्यक्तिगत वा सम्बन्धित संस्थागत जिम्मेवारी हुने बताइएको छ। महासंघले सत्य, सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल धर्मलाई प्राथमिकता दिन तथा अपुष्ट एवं संवेदनशील सामग्रीको प्रचार–प्रसार नगर्न आम नागरिक तथा सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x