अमेरिकी भन्सार शुल्कको मार चीनमाथि बढी नै परेको स्पष्ट देखिन्छ । त्यसैले चीनले नयाँ व्यापार वार्ताकार नियुक्ति गरेको छ भने राष्ट्रपति र प्रधानमन्त्री अलग अलग देशसँग वार्तामा छन् । आज हामी यो व्यापार युद्धले अमेरिका र युरोपसहितका देशमा पर्ने बहुपक्षीय असर र त्यसको सामना गर्न भइरहेका तयारीबारे चर्चा गर्दै छौँ ।
व्यापारयुद्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग फाइदाजनक सम्झौता गर्न लागेको दाबी गरेका छन् । चिनियाँ सामानमाथि २४५ प्रतिशत भन्सार शुल्क लगाएका ट्रम्पले अमेरिकाको सामना कुनै पनि देशले गर्न नसक्ने दाबी गरेका छन् । उनले आफूले जापानी व्यापार प्रतिनिधिसँग पनि कुरा गरेको र चीन अमेरिकासँग वार्ताको टेबलमा बस्त तयार रहेको बताएका छन् ।
अमेरिकी व्यापार युद्धको मारबीच चीनले पनि अमेरिकालाई अत्यावश्वक वस्तुको निर्यात रोकेर नयाँ बजारको खोजीमा छ । जसका लागि चिनियाँ राष्ट्रपति सीले दक्षिणपूर्वी एसियाली देशको भ्रमण गरेका छन् भने जापान र दक्षिण कोरियासँग नयाँ व्यापार योजनाबारे चीन छलफलमा छ ।
निर्यातमुखी अर्थतन्त्र भएको चीन अर्थतन्त्रमा संकट आउन नदिन नयाँ व्यापारिक साझेदार र बजारको खोजीमा छ । अमेरिका र चीनबीच भन्सार बढाउने शृङ्खला नै चलिरहेको छ । तर यो व्यापार युद्धबाट चीनको मात्रै नोक्सानी भइरहेको छैन, अमेरिकी बजारमा पनि यसको असर देखिन थालिसकेको छ ।
अमेरिका मिसाइल निर्माण गर्ने सामानदेखि विद्युतीय उपकरण र खेलौनादेखि कपडा, जुत्ताका लागि समेत चीनसँग निर्भर छ । यस्ता सामाग्रीको आयात नभएमा वा मूल्य बढेमा त्यसको प्रत्यक्ष असर अमेरिकी बजारमा पनि पर्नेछ । चीनले सस्तो मूल्यमा बिक्री गर्दै आएका यस्ता सामान अन्य देशबाट आयात गरेमा वा अमेरिकी बजारमै उत्पादन गरेमा पनि अहिलेको भन्दा मूल्य बढ्नेछ ।
अमेरिकी बजारबारे विश्लेषण गर्दै आएको ‘द बजेट ल्याब’ का अनुसार अमेरिकामा व्यापार युद्धले अमेरिकामा कपडा ६० प्रतिशत, औषधी र उपचार सामग्री १२ प्रतिशत तथा खाद्यान्नमा करिब ३ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्छ । जसले आम सर्वसाधारण अमेरिकीको जीवन महंगीको मारमा पर्नेछ । अमेरिकी अर्थव्यवस्थाको विकासदर घट्ने प्रक्षेषण भइरहेका बेला अर्थशास्त्री जेपी मोर्गनले अमेरिकामा आर्थिक मन्दी निम्तिने चेतावनी दिएका छन् ।
चीनले अमेरिकी भन्सारविरुद्ध जवाफी भन्सार र दुर्लभ अर्थ मेटेरियलको आपूर्तिमा रोक लगाएको छ । यो निर्णय अमेरिकाका लागि सबैभन्दा ठूलो झट्का हो । किनकि चीनले दुर्लभ अर्थ मेटेरियल रोक्नु भनेको अमेरिकी मिसाइल कार्यक्रममाथि समेत संकट निम्तिनु हो ।
अमेरिकी अर्थतन्त्रको एउटा प्रमुख क्षेत्र भनेको हतियारको निर्यात हो । अमेरिकाले वार्षिक रूपमा अर्बौ डलरका हतियार, मिसाइल र रक्षा सामग्री निर्यात गर्दै आएको छ । अमेरिकासहित संसारभर हतियारदेखि माइक्रोचिप्स, मोबाइलजस्ता सामानमा प्रयोग हुने अर्थ मेटेरियलको ८५ प्रतिशत चीनबाट आयात गरिन्छ ।
जसमध्ये केही धातुको प्रयोग राडार, लेजर र जेट विमानको निर्माणमा गरिन्छ । जुन धातु बिना अमेरिकाका केही फाइटर विमानले उडान सम्म भर्न सक्दैनन् । चीनले यस्ता अर्थ मेटेरियल रोकेका बेला अमेरिका र युक्रेनबीच त्यहाँका दुर्लभ अर्थ मेटेरियलमा पहुँच दिने सम्झौता भएको छ ।
चीनले कपर लिथियमजस्ता धातुको प्रशोधनमा समेत सहयोग गर्छ । चीनले चाहेमा यस्ता वस्तु अमेरिकामा पुग्नबाट रोक्न सक्छ । यस्तो अवस्थामा ल्यापटप, मोबाइलदेखि सेमिकन्डक्टरजस्ता सामानमा अमेरिकालाई चीनको सहयोग आवश्यक छ । अमेरिकाका ठूला प्रविधि कम्पनीले यस्ता दुर्लभ धातु चीनबाट नै आयात गर्दै आएका छन् । तर ट्रम्पले चीनसँग व्यापार युद्ध सुरु गरेपछि अमेरिकी प्रविधि कम्पनी समस्या भोगिरहेका छन् ।
अमेरिकी रेसिप्रोकल करसँगै अमेरिकी कम्पनी एप्पलको मार्केट भ्यालु घट्यो र शेयर मूल्यमा २० प्रतिशतसम्म गिरावट आयो । अमेरिकामा आईफोनको दाम तीन गुणासम्म बढ्न सक्ने अनुमान छ ।
अमेरिकामा फर्निचर, खेलौना र ब्याट्रीजस्ता सामान समेत चीनबाट आयात हुँदै आएका छन् । अमेरिकामा इलेक्ट्रिक गाडी बनाउन प्रयोग हुने ७० प्रतिशत ब्याट्री चीनबाट आयात गरिन्छ ।
अब अमेरिकी बजारमा तत्काल यसको विकल्प तयार गर्न सजह छैन । चीनसँगको व्यापारयुद्धका जटिलता बुझेरै ट्रम्पले चीनबाट समेत आयात हुने स्मार्टफोन, ल्यापटप, सेमिकन्डक्टरजस्ता सामानमा भन्सार शुल्क हटाएका हुन् ।
जसरी चीन अमेरिकासँग व्यापार निर्भरता घटाइरहेको छ, त्यसरी नै अमेरिकाले पनि चीनसँगको निर्भरता कम गर्दै लगेको छ । ट्रम्पले अघिल्लो कार्यकालमा पनि चीनसँगको कारोबार कम गर्ने कोशिस गरेका थिए ।
तर अमेरिकी कमर्स डिपार्टमेन्टले २०२३ मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार चिनियाँ सामान दक्षिण पूर्वी एसियाकै अन्य देशमार्फत अमेरिका पुग्ने गरेका छन् । जस्तो कि सन् २०१८ मा चिनियाँ सोलर प्यानलमा अमेरिकाले ३० प्रतिशत भन्सार शुल्क लगायो । तर पनि चिनियाँ सोलर प्यानलहरू मलेसिया, थाइल्याण्ड, कम्बोडिया, भियतनाम हुँदै अमेरिका पुगे ।
यस्ता सोलर प्यानलहरू दक्षिणपूर्वी एसियाली देशमा एसेम्बल गरेर अमेरिका निर्यात गरिएको थियो । जसबाट चिनियाँ सामान अमेरिका पनि पुग्यो र भन्सार शुल्कबाट समेत बच्यो । जसको फाइदा अमेरिकी व्यापारीहरूले समेत पाए । ट्रम्पले भन्सार शुल्क लगाएपछि अमेरिकामा उद्योगधन्दा खुल्ने र रोजगारी बढ्ने दाबी गरिरहेका छन् । तर यो पनि सत्य हो कि चीन संसारकै सबैभन्दा ठूलो म्यानुफ्याक्चरिङ देश हो । जहाँ निर्माण भएका सस्ता सामान विश्व बजारमा पुग्छन् । तर यीनै सामान अमेरिकामा बन्ने हो भने उपभोक्ताले अहिलेको भन्दा केही गुणा बढी मूल्य तिर्नुपर्छ ।
त्यसैले चीनमा बनेका सामानको अमेरिकी बजारमा जबर्जस्त माग हुँदै आएको छ । अब चिनियाँ सामानमा २४५ प्रतिशत कर लाग्दा अमेरिकी बजारमा चिनियाँ सामानको मूल्य १० गुणाभन्दा महंगो पर्नेछ । त्यसैले अमेरिकी बजारको स्थिरताका लागि पनि चीनसँगको व्यापार युद्धमा नयाँ निकास खोज्नुपर्ने बाध्यता अमेरिकासामू समेत छ ।
चीन–अमेरिका व्यापार युद्धको असर दुई देशमा मात्रै पर्नेछैन । यसले अमेरिकाका व्यापार साझेदार देशलाई पनि झस्काएको छ । जर्मनीको चान्सलर बन्ने दौडमा रहेका फ्रेडरिक मेत्र्जले विश्वमा बजार अझै घट्ने र यसबाट उत्पन्न हुने समस्याको सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले रेसिप्रोकल कर घोषणा गरेसँगै सिंगापुरका प्रधानमन्त्री लरेन्स वंग र बेलायतका प्रधानमन्त्री किर स्टार्मरले अहिलेको विश्वव्यापीकरणको अन्त्य भएको टिप्पणी गरेका थिए । ट्रम्पले ९० दिनका लागि भन्सार शुल्क रोकेका छन् । तर अमेरिकाले लगाएको १० प्रतिशतको ‘बेसलाइन’ भन्सार सबै देशमाथि लागू हुनेछ । तर संसारको सबैभन्दा ठूलो निर्यातकर्ता देश चीनमाथि अमेरिकाले २४५ प्रतिशत कर लगाएको छ ।
ट्रम्पले रेसिप्रोकल कर स्थगित गरेपछि विश्वका प्रमुख शेयर बजार केही सम्हालिएका छन् । तर ९० दिनपछि फेरि ट्रम्पले रेसिप्रोकल कर लगाउन सक्ने डर कायमै छ । ईयूका ट्रेड एन्ट इकोनोमिक सेक्युरिटीका आयुक्त म्यारोस सेफकोभिकले विश्वको व्यापार प्रणालीमा ठूलो परिवर्तन भइरहेकाले युरोपले पनि आफ्नो स्थान खोज्नुपर्ने बताएका छन् ।
बेलायती प्रधानमन्त्री किर स्टार्मर त ट्रम्पको करयुद्धले एक नयाँ ग्लोबल अर्डरको सुरुवात हुने टिप्पणी गर्छन् । अर्थमन्त्री रचेल रिभ्सका अनुसार विश्वव्यापीकरणका कारण संसारका सबै मानिसले सस्ता कार, टिभी या फेसनसँग सम्बन्धित सामानहरू सहजै प्राप्त गरे । तर अब यो समय करिब समाप्त भएको छ ।
उनले ब्रिटेनले आफ्ना बाँकी सहयोगीसँग सम्बन्ध थप बलियो बनाउनुपर्ने समेत बताएका छन् भने घरेलु अर्थतन्त्रमाथि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । तर बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीले भनेजस्तो विश्वव्यापीकरण समाप्त हुन लागेको हो त ? यो तर्कमा भने त्यति ठूलो दम देखिदैन । अमेरिकी व्यापारयुद्धले मात्रै विश्वव्यापीकरण अन्त्य हुन्छ भन्नु अर्को अतिरञ्जना मात्रै हो । किनकि न अमेरिका विश्व समुदायबाट अलग भएर बस्न सक्ने अवस्था छ, न त अमेरिकाबाहेकका देशहरू नै । अमेरिकी व्यापार सीमित भएमा त्यसको विकल्प तयार पार्न भने केही समय लाग्न सक्छ ।
तर अर्को सत्य के चाहिँ हो भने व्यापार युद्धका कारण केही प्रतिशतको नाफामा काम गर्ने अमेरिकी वा चिनियाँ कम्पनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिन हुनसक्छ । र अत्यधिक सामाग्री उत्पादन गर्ने देशले अमेरिकी बजारलाई विस्थापन गर्ने अवस्था सिर्जना हुनसक्छ । यसको पनि कारण छ । यी सामानका लागि अमेरिका एउटा आकर्षक बजार हो, तर एकमात्रै बजार होइन ।
ट्रम्पले २०१८ मा सुरु गरेको व्यापार युद्धले चीनले अमेरिकाप्रतिको निर्भरता कम गर्ने दिशामा कदम चाल्न सुरु गरेको थियो । तर यतिबेला विश्वका सबै देशमाथि ट्रम्पले कर घोषणा गरेपछि अन्य देश पनि विकल्पको खोजीमा लाग्न थालेका छन् । जस्तो कि अमेरिकाका निकट सहयोगी जापान, दक्षिण कोरियाले चीनसँग नयाँ शिराबाट व्यापार अघि बढाउने विषयमा छलफल अघि बढाएका छन् । यी देश एसियाका प्रमुख अर्थतन्त्र भएका देश हुन् ।
ट्रम्पको एक निर्णयले संसारमा एक प्रकारको आर्थिक अनिश्चितताको बादल मडारिरहेको छ । ट्रम्पकै समर्थक अर्बपति बिल एकम्यानले समेत विश्वमा एउटा लामो आर्थिक शीतकाल निम्तिने खतरा औल्याएका छन् । यो अवस्थाको समाधान नै विश्व बजारको स्थिरताको अस्त्र बन्नसक्छ ।
-एजेन्सीको सहयोगमा / शिलापत्र बाट