१३ असार २०८३, शनिबार

मुलुकको इतिहास र सम्पदा क्षेत्रका तथ्य बुझ्न सुन्दरीहरू घुमे

एसीपी संवाददाता

१४ माघ २०७७, बुधबार ०८:२० मा प्रकाशित

मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस टुरिज्म रिया श्रेष्ठले काठमाडौंका सम्पदा क्षेत्र भ्रमण गरेका हुन् । पर्यटन बोर्ड, म्यूजियम अफ नेपाली आर्ट र द हिडन ट्रेजरको संयुक्त आयोजनामा भएको ‘हेरिटेज वाक’ कार्यक्रममार्फत उनीहरुले सम्पदा क्षेत्रको भम्रण गरेका हुन् ।

वसन्तपुरको दरबार स्क्वायरस्थित कुमारी घरमा जीवितदेवी कुमारीको दर्शन गर्दै मिस नेपाल विजेताहरुका ‘हेरिटेज वाक’ सुरु भयो । ‘यदि हामीले हाम्रो मानव सभ्यता बुझ्यौं भने हामी नेपाली हुनुमा गर्व गर्छौं,’ गाइड आलोकसिद्धि तुलाधरले पदयात्रा अगाडि बढाउँदै भने । त्यही नम्रताले पनि आफूले पहिलो पटक कुमारीको दर्शन गरेको खुलाइन् । ‘पहिला कुमारी घरसम्म त आइन्थ्यो । तर कुमारीको दर्शन गरेकी थिइँन,’ उनले भनिन् ।

वसन्तपुरकै कालभैरव मन्दिर छेउमा रहेको तरबारको इतिहासबारे तुलाधरले सुन्दरीहरुलाई जानकारी दिए । राजा प्रताप मल्लले १५ भाषामा लेखेका शिलालेख देखाए । हनुमानढोका संग्रहालयको बाहिर उनले इतिहास र किंवदन्ती सुनाउँदै गर्दा सुन्दरीहरुले पनि चाख लाग्दो तरिकाले तुलाधरलाई सुने ।

त्यसपछि इन्द्रचोकमा रहेको कान्तेश्वर महादेव र पोते बजार उनीहरुले भ्रमण गरे । ‘मुस्लिम समुदायले बनाएको यी पोतेहरु हिन्दु महिलाहरुले लगाउने गर्छन्,’ तुलाधरले सुन्दरीतर्फ हेर्दै सुनाए, ‘पोते बनाउने अधिकांश मुस्लिम नै हुन् । उहाँहरु कति त प्रष्ट नेवारी बोल्नुहुन्छ । समे बजी खानुहुन्छ । त्यस किसिमको संहिष्णुता यहाँ कायम छ ।’

पोतेबजार घुमिसकेपछि मिस नेपाल अर्थ सुप्रियाले भनिन्, ‘पहिला यहाँ पोते धेरै पाइन्छ भन्ने मात्र थाहा थियो तर अहिले उनीहरुसँग जोडिएका धेरै कुरा थाहा पाएँ ।’

मिस टुरिज्म रियाले पनि आफू सँधै हिँड्ने गरेको यी क्षेत्रहरुका इतिहास र किंवदन्ती सुन्दा आफूले धेरै कुरा जान्ने मौका पाएको बताइन् ।

राकी बजारमा रहेको मस्जिदपछि सुन्दरीहरुले जनबहा र त्यहाँको मन्दिर घुमे । त्यसपछि यात्रा पूर्व कुमारी मतिना शाक्यको घरतर्फ मोडियो । सुन्दरीहरुले मतिनासँग फोटे खिचे अनि इतंबहाको इतिहासबारे सुने । इतंबहापछि हरित तारा, ससुननी, श्रीघलको बिहार हुँदै ठमेलको छुस्याबहामा पुगेर सुन्दरीहरुका झन्डै तीन घण्टाको ‘हेरिटेज वाक’ समापन भयो ।

सिरम इन्स्टिच्युड अफ इन्डिया,विश्वमा सबैभन्दा धेरै खोप बनाउने कम्पनीमध्ये एक

द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले सम्पदा संरक्षणका लागि हेरिटेज वाकको आयोजना गरिएको बताए । ‘हेरिटेज वाकको मुख्य उद्देश्य नेपालको सम्पदा, सँस्कृति विश्वमा र नेपाली पर्यटनसामु लैजान आयोजना गरिएको हो । हाम्रा मिस नेपालहरु आफैं यसबारे जानकार हुनुहुन्न,’ उनले कान्तिपुरलाई भने, ‘पहिला उहाँहरुलाई जानकारी दिने र उहाँहरुमार्फत सम्पदाको जानकारी पुर्‍याउने नै यो वाकको उद्देश्य हो । उनीहरु जहाँ जान्छन्, त्यहाँ यसबारे बोल्नेछन् । यसले पक्कै पनि नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटनमा टेवा पुर्‍याउने छ ।’

भ्रमण निकै रमाइलो बनेको मिस नेपाल नम्रताले सुनाइन् । ‘पहिला कति कुरा थाहा थिएन अहिले थाहा भयो । धेरै कुरा जान्न पाएँ । कति ठाउँ त आज मात्र थाहा पाएँ,’ नम्रताले भनिन्, ‘पहिला हिँडिरहेकै ठाउँको त्यति वास्ता हुन्थेन । तर अहिले त्यसका बारेमा धेरै कुरा थाहा भयो । सम्पदा संरक्षणमा सरकारको ध्यान पुग्यो भने अझै राम्रो होला ।’

‘हेरिटेज वाक’मा मिस नेपाल सुन्दरीहरुसँगै द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, म्यूजियम अफ नेपाली आर्टकी निर्देशक सगुनी सिंह शाक्य लगायतको सहभागिता थियो ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीले ‘हेरिटेज वाक’ले ऐतिहासिक क्षेत्रका जानकारीलाई बाहिर ल्याउने भुमिका खेलेको बताए । ‘यो वाकले सम्पदा भ्रमणका विषयमा थप पर्यटकलाई आकर्षण गराउनेछ । सुन्दरीहरुमार्फत धेरै व्यक्तिले लुकेका क्षेत्रहरुबारे जानकारी पाउनेछन्,’ उनले भने, ‘सम्पदाको संरक्षण सरकार, गैरसरकारी क्षेत्रका लागि चुनौतीपूर्ण छ । यसको महत्व हामीले नबुझेसम्म कसले सुरक्षा गर्छ ? त्यसैले हामीले अन्वेषण गर्नुपर्छ पहिला ।’

काठमाडौं गेस्ट हाउसकी निर्देशकसमेत रहेकी सगुनीले तीन वर्षअगाडि यो ‘हेरिटेज वाक’को डिजाइन गरेको बताइन् । ‘यहाँ पर्यटक त आउनुहुन्छ । तर सबैले घुम्ने भनेको बौद्ध, पशुपति, स्वयम्भु र वसन्त दरबार स्क्वायरमात्र हेर्छ । तर हाम्रो सम्पदाहरु त धेरै छन् नि त । त्यसैले त्यहाँका कुरालाई पनि बाहिर ल्याउन हेरिटेज वाक डिजाइन गर्‍यौं ।’कान्तिपुरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x