नेपाली काँग्रेस बाँकेको आयोजना एवम् नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सह-आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । काँग्रेसले सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका नागरिकलाई घरदैलोमै विशेषज्ञ सेवा उपलव्ध गराउने योजना अनुरुप संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो । ‘बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको र जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्य लगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको हो’-नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले भने । ।
स्वास्थ्य शिविरमा बाँकेका केही पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिइएको जनाइएको छ । अध्यक्ष बस्नेतका अनुसार शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रालिका डिएम नेफ्रोलोजिष्ट डा. सौरभ सिंह हमाल, कन्सल्टेन्ट फिजिसियन डा. प्रतिभा भण्डारी, मेडिकल अफिसर शिवा आले तथा ल्याब टेक्निसियनसहितको स्वास्थ्यकर्मीहरुले उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा ५०० बढीको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गोडेलले काँग्रेस सधैं नेपाली जनताको सुखदुःखसंग जोडिएको भन्दै पार्टीको सामाजिक कार्यक्रम अन्तर्गत संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसरमा स्वास्थ्य शिविर गरिएको बताए । सभापति गौडेलले भने-‘काँग्रेस पार्टीप्रति जनताको माया छ, भरोसा छ । यो माया र भरोसालाई पार्टीले सधंै उच्च सम्मानका साथ शिरमा राख्दै आएको छ ।’ उनको थप भनाई थियो, ‘काँग्रेस झुठो बोल्दैन । जे गर्छ त्यही भन्छ र जे भन्छ त्यही गर्छ । जनताहरुले पनि काँग्रेसलाई त्यसरी नै बुझ्नुपर्छ ।’

त्यस अवसरमा काँग्रेस नेता एवम् पूर्व मन्त्री सुरेन्द्र बहादुर हमाल, बाँके क्षेत्र नं. १ का सभापति पोषण केसी र पार्टी महासमिति सदस्य एवम् नरैनापुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले संविधान पिता कोइरालाले देखाएको वाटोमा नेपाली काँग्रेस अनवरत हिँड्दै आएको बताए ।
शिविर शुभारम्भ समारोहमा महासमिति सदस्य लक्ष्मी नारायण शाह, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, विनोद कुमार थारु, सदस्य रबि हमाल, क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, प्रेस सल्लाहकार निरज गौतम, कार्यालय सचिव अमित कँडेल, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार रविन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओलीले सञ्चालन गरेको कार्यक्रममा जननायक वीपी कोइराला र संविधान पिता सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो भने लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।