१२ असार २०८३, शुक्रबार

भारतद्वारा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना सुरु, क्याम्पस भवनको शिलान्यास

एसीपी संवाददाता

२९ फाल्गुन २०८०, मंगलवार २१:३७ मा प्रकाशित

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत डोटीको बडी केदार गाउँपालिकास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

बडी केदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भवनको संयुक्तरुपमा शिलान्यास गरेका हुन्। भारत सरकारको नेरु २‍.८९ करोड आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। कार्यक्रममा बोल्दै बडी केदार गाउँपालिकाका अध्यक्ष साउदले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूको  उपस्थिति रहेको थियो।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् भने ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन्। जसमा ४ वटा परियोजना डोटीमा रहेको दूतावासले जनाएको छ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ।  जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ। यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको दूतावासको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x