८ कार्तिक २०८१, बिहीबार

प्रधानमन्त्री दाहालको सत्ता यात्रामा ब्रेक !

एसीपी संवाददाता

२० असार २०८१, बुधबार ११:१६ मा प्रकाशित

काठमाडौं । २०७९ मंसिरमा आमनिर्वाचन भएपछिका डेड वर्षमा चौथो पटक सत्ता समिकरणमा फेरबदल हुने भएको छ । संसदको तेस्रो शक्ति भएर पनि ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई घुमाएर प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहालको सत्ता यात्रामा अहिले भने ब्रेक लाग्ने देखिएको छ ।

२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन् । नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल बने माओवादी निकै ठूलो मतान्तरमा तेस्रो दल बन्यो । तर त्यही तेस्रो दलले सरकारको नेतृत्व गर्ने अवसर पायो । २७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सीट मात्रै भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफू भन्दा दोब्बर भन्दा बढी सिट संख्या भएका कांग्रेस र एमालेलाई घुमाएरै डेढ वर्ष सत्तामा रहन सफल हुनुभयो । त्यति मात्रै होइन, डेढ वर्षमा दाहालले तीन पटक समीकरण फेर्नुभयो भने पछिल्ला दिनमा दाहालमा पाँचै वर्ष आफैं प्रधानमन्त्री भईराख्ने महत्वाकांक्षा जागेको थियो । दुई वटै ठुला दललाई आफू अनुकूल प्रयोग गर्न खप्पिस दाहालको उक्त महत्वाकांक्षाले नै यस पटक कांग्रेस र एमालेलाई एक ठाउँ उभ्याएको हो ।

कांग्रेस र एमालेबीच सत्ता साझेदारीलगायतका विषयमा जुन सहमति भएको छ, त्यसको पूर्ण कार्यान्वयन हुने हो भने पुष्पकमल दाहालको यो नै अन्तिम कार्यकाल नहोला भन्न सकिंदैन । दाहालको पछिल्लो १९ महिनाको कार्यकाल पनि कुनै उपलब्धिमूलक रहन सकेन । डेढ वर्षमा उहाँले चार पटक त संसदमा विश्वासको मत मात्रै लिनु प¥यो, जुन आफैमा नयाँ रेकर्ड हो । अझै पनि दाहाल राजीनामा नदिएर विश्वासको मततिर लाग्ने अडानमा हुनुहुन्छ ।

दश वर्ष लामो हिंसात्मक संघर्षबाट आएर तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका दाहालले विकास निर्माणका काम त गर्न सक्नु भएन नै, त्यसमाथि उहाँले सवैभन्दा महत्व दिएको शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि सक्नुभएन । अर्थतन्त्र सुधारका लागि नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका काम अघि बढाएर आमूल परिवर्तन गर्नेलगायतका दर्जनौं प्रतिवद्धता पनि ओंठेभक्तिमै सीमित रहे । १९ महिनाको कार्यकालमा प्रधानमन्त्री दाहालका काम भन्दा धेरै स्टन्टबाजी भए । उहाँको अधिकांश समय उद्घाट्न, भाषण, गोष्ठी जस्ता स-साना काममा वित्यो ।

प्रधानमन्त्री दाहालले दिएका निर्देशनहरु कति कार्यान्वयन भए भन्ने लेखा जोखा समेत छैन । एमालेलाई काँग्रेस देखाउने र कांग्रेसलाई एमाले देखाउने चालबाजीबाट सत्तामा टिक्ने दाउमा रहनुभएका दाहालको दाउलाई कांग्रेस एमालेको सहमतिले भने चकनाचुर बनाईदिएको छ । Imagekhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x